• २०७६ भदौ ८ आइतबार

उपत्यका डेङ्गुको उच्च जोखिममा, सचेत रहन सुझाव

 काठमाडौँ,

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको भन्दै सचेत रहन सुझाव दिएकोे छ । डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमूना सङ्कलन गरी गरेको अध्ययनपछि यस्तो जानकारी दिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो । रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए । 

डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले भने, “काठमाडौँ वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडाँैमा डेङ्गु सङ्क्रमित देखिएको थियो । 

महाशाखाका प्रमुख लालले गोरखापत्रसँंग कुरा गर्दै भने, “काठमाडौँको हावापानी, वातावरण, पानी, खाल्डाखुल्डी, पानी जम्ने ठाउँजस्ता विषयले काठमाडौँ डेङ्गुको उच्च जोखिम रहेको पाइएको छ । ’’ उनले डेङ्गु सार्ने लामखुट्टेले सफा पानीमा अन्डा पार्ने र अन्डा पारेको भाँडा, प्लास्टिक, गमला, पोखरी, खाल्डाखुल्डी जस्ता ठाउँमा अन्डा भित्तामा टाँसिएर रहने भएकाले सतर्क हुनुपर्ने सुझाव दिए । 

प्रदेश नं. १ को सुनसरीमा मात्र यस वर्ष तीन हजार ४२५ जनामा डेङ्गु देखा परेको छ । गोरखापत्रका अनुसार, पाँच वर्ष अघिसम्म १२ जिल्लामा देखिएको डेङ्गु पाँच वर्षको बीचमा ५६ जिल्लामा फैलिइसकेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार