• २०७६ श्रावण १ बुधबार

मोटरसाइकलसहित खोलामा खसेर पटेलको मृत्यु

अखिलेश कुमार यादव
रौतहट, 
लाल बकैया खोलामा मोटरसाइकलबाट झरेर एक नेपाली नागरिकको मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ३ औरैयाका ३५ वर्षीय राम पुकार पटेलको मृत्यु भएको हो ।

भारतको विहारमा रहेका आफन्तलाई भेटेर घर फर्किने क्रममा मोटरसाइकल सहित आज बिहान ४.४५ बजे खोलामा खसेर बेपत्ता भएका थिए । लाल बकैया नदीको फुलबरिया घाटको डाइभर्सन खोलाले बगाएपछि उनी रेल्वे लाइनको पुल माथिबाट मोटरसाइकलमा खोला तर्ने क्रममा खसेर बेपत्ता भएका हुन् ।  

पटेल बेपत्ता भएपछि स्थानीय बासिन्दाहरूले भारतीय सुरक्षाकर्मीलाई खबर गरी खोजी कार्य तीव्र बनाएका थिए । भारतीय सुरक्षाकर्मीहरूले खोलामा डुबेको अवस्थामा पटेल चढेको विआर ५५ ए ४१३८ नम्बरको मोटरसाइकल भेटेका थिए । सोही नम्बरलाई भेरिफिकेशन गर्दा उक्त मोटरसाइकल पटेलको भएको थाहा पाएपछि मात्र नेपाली युवक पटेल बेपत्ता भएको थाहा भएको थियो ।

सुरक्षाकर्मीहरूको प्रयास पछि घटनास्थल भन्दा ४० किलोमिटर दक्षिण वागमती नदीको वेलवाघाट नजिकमा पटेलको शव भेटिएको प्रहरीले बताएको छ । मृतकको आफन्तलाई खबर गरेपछि पीडित पक्ष शव ल्याउन भारत गएको जानकारी दिँदै रौतहट प्रहरीका डिएसपी एवं प्रवक्ता नवीन कार्कीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार