• २०७६ असोज २७ सोमबार

नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै संस्थाको रुपमा विकास गर्ने तयारी

काठमाडौँ, 

सरकारले नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी दुई छुट्टाछुट्टै संस्थाको रुपमा विकास गर्नेभएको छ । मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रुपमा स्थापित गर्न कानूनी प्रक्रिया अघि बढाएको हो । 

अन्तर्राष्ट्रिय हवाई सुरक्षा चासोलाई मध्यनजर गर्दै मन्त्रालयले प्राधिकरणलाई दुई भिन्न निकाय बनाउने प्रयोजनका निम्ति तद्सम्बन्धी ऐनको मस्यौदा तयार समेत गरेको छ। मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाका अनुसार अन्तर्राष्ट्रिय अभ्यास अनुरुप प्राधिकरण चल्नुपर्ने भएकाले नियामक र सेवा प्रदायकका रुपमा हवाई सुरक्षा प्रणालीमा थप गुणस्तर कायम गर्ने उद्देश्यका लागि प्रक्रिया अघि बढाइएको हो।

प्रक्रियामा सरोकार भएका अर्थ, परराष्ट्र र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरिएको र छिट्टै यसलाई पूर्णता दिने तयारी भइरहेको सचिव सापकोटाले बताए। सुरक्षा चासो जनाउँदै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र युरोपेली सङ्घले प्राधिकरणलाई अलग गर्न आग्रह गर्दै आएका थिए। आइकाओको सन् २००९ को ‘अडिट’मा सन् २०१२ मा आइकाओका अध्यक्ष नेपाल आउँदा र युरोपेली संघले पनि प्राधिकरणको नियामक तथा सेवा प्रदायक निकाय अलग गर्न सुझाव दिएको थियो।

प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन ऐन २०७१’ को मस्यौदा परिमार्जन गरेर २०७३ मै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको थियो। गत वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सवका अवसरमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीले छिट्टै दुई निकाय अलग बनाउने घोषणा गरेका थिए। कर्मचारी युनियनको दबाबपछि कामले गति लिन सकेको थिएन।

प्राधिकरणलाई विभाजन गरेको खण्डमा युरोपेली संघको सुरक्षा चासोलाई पनि सम्बोधन हुने मन्त्रालय उच्च अधिकारीहरुको बुझाई छ। युरोपेली संघको सुरक्षा चासोसँग जोडिएका धेरै कुरालाई नेपालले सम्बोधन गरिसकेकाले खासगरी उनीहरुको नियामक र सेवाप्रदायक एउटै निकाय होस भन्ने चाहनालाई पनि ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार