• २०७६ असार १२ बिहीबार

सम्बन्धित निकायले ध्यान नदिँदा राजरङ्गशाला गौचरणमा परिणत

अनिल पोखरेल
टिभी अन्नपूर्ण, राजविराज । 

सात हजार दर्शक अटाउने क्षमता भएको सप्तरीको रङ्गशालाको सम्बन्धित निकायले रेखदेख तथा मर्मत सम्भारमा ध्यान नदिँदा गौचरणमा परिणत भएको छ । रङ्गशालाको अभिभारा राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकुद विकास समितिलाई दिइसकेको भएता पनि प्याराफिट नै अतिक्रमण गरी विगत २० वर्षदेखि २ दर्जन परिवार बसिरहेका छन् ।

यता रङ्गशालाको वरिपरि दिशा पिसाब गर्नेहरूको सङ्ख्या पनि उत्तिकै बढ्दै गएको छ । प्यारापीट जिर्ण र अतिक्रमण भएको र सोही कारणले विगत १५ वर्षदेखि रङ्गशालाको खेल मैदानमा कुनै पनि प्रतियोगिता र अभ्यास सम्म हुन सकेको छैन ।  रङ्गशालाको पूर्व पट्टि ठाउँ ठाउँमा प्याराफिट जिर्ण हुँदा बजारमा रहेका छाडा बस्तहरुको चरन स्थान भएको छ । यस विषयमा खेलकुद विकास समितिले खासै पहल गरेको देखिदैन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले पटक पटक अतिक्रमित स्थान खाली गर्न प्याराफिट मुनि बस्दै आएकाहरूलाई सूचना पठाएपनि नटेरेको लाचारी सुनाए । वि. स. २०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको २ बिघा ७ कट्ठा ४ धुर जग्गामा निर्माण भएको राजरंगशाला पानी निकासको समस्याले वर्षायाममा जलमग्न समेत हुने गरेको छ ।

राजरंगशालाको लथालिङ्ग अवस्थाप्रति पटक पटक खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्मा लिखित तथा मौखिक तागेदा गर्दा पनि आश्वासन बाहेक केही नपाइएको स्थानीय खेलाडी तथा खेलप्रेमीको गुनासो छ । लथालिङ्ग अवस्थामा रहेको रङ्गशालाका कारण खेलकुद गतिविधि ठप्प प्रायः छ । जसकारण नयाँ खेलाडी उत्पादन हुन त परै जाओस् पुराना खेलाडी पनि पलायन हुन थालेको भन्दै खेलाडी तथा खेलप्रेमीले अविलम्ब यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार