• २०७६ श्रावण ६ सोमबार

‘प्रथम कटारी नगर मेयरकप’को उपाधि कटारी २ लाई

अभिमन्यु लामिछाने, टिभी अन्नपूर्ण उदयपुर ।

    कटारी नगरपालिकामा आयोजित ‘प्रथम कटारी नगर मेयरकप फुटबल प्रतियोगिता ०७५’ को उपाधि कटारी २ ले हात पारेको छ । कटारी २ ले कटारी १४ लेखानीलाई शून्यका विरुद्ध १ गोलको अन्तरमा पराजित गर्दै मेयरकपको उपाधि हात पारेको हो ।
    कटारी  खेलमैदानमा गत १८ गतेदेखि जारी प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा कटारी २ का खेलाडी जीवनकुमार दनुवारले १  गोल गरेका थिए ।  कटारी २ का टिम क्याप्टेनसमेत रहेका दनुवारले खेल सुरु भएको ४१ औं मिनेटमा गरेको पहिलो गोल नै अन्तिम र निर्णायक बन्न पुग्यो ।
    कटारीस्थित साथी समूहको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता समूहलाई कार्यवाहक नगरप्रमुख कृष्णराज दनुवारले ५१ हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरेका छन्। उपविजेता कटारी १४ लेखानीलाई २५ हजार नगद, सिल्ड र प्रमाणपत्र प्रदान गरियो । खेलका विभिन्न विधातर्फ पनि पुरस्कार प्रदान गरिएको छ ।
    जस अनुसार उदयमान खेलाडीको पुरस्कार कटारी ४ का सञ्जय तामाङले पाए भने उत्कृष्ट गोलरक्षकको पुरस्कार कटारी २ कै सुजल गिरीले पाए । उत्कृष्ट डिफेंडर  कटारी २ कै भूपाल खत्री भए भने ५ गोल गर्न सफल विजेता टिम २ नं कै जीवनकुमार दनुवारले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । उपविजेता टिमका मानस राई उत्कृष्ट खेलाडी ठहरिए ।
    आयोजक क्लब साथी समूहका अध्यक्ष मानबहादुर तामाङका अनुसार कटारी नगरपालिकाको ५ लाख सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । कटारीमा यसअघि ३ वर्षदेखि ‘कटारी गोल्डकप’ सञ्चालन गरिदै आएको भए पनि यो वर्ष कटारी गोल्ड कप नभएपछि कटारी प्रथम मेयर कपको आयोजना गरेको साथी समूहका उपाध्यक्ष राज कुमार थापाले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार