• २०७६ जेठ १३ सोमबार

चेल्सी र आर्सनल युरोपा लिगको क्वार्टरफाइनलमा

 इङ्लिस क्लब चेल्सी र आर्सनल युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । बिहिबार राति भएको प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा चेल्सीले युक्रेनी प्रतिद्वन्द्वी डाइनामो किभलाई उसैको मैदानमा ५–० गोलले हरायो । आर्सनलले घरेलु मैदानमा फ्रान्सेली प्रतिद्वन्द्वी रेन्सलाई ३–० गोलले स्तब्ध बनायो । 

चेल्सीको जितमा ओलिभियर जिराउडले ह्याट्रिक गोल गरे । त्यस्तै, मार्कस एलन्स र कलुम हुड्सन ओडोइले समान १–१ गोल गरे ।

जिराउडले पाँचौं मिनेटमा नै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै, उनले ३३ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा एलन्सले गोल गर्दै चेल्सीलाई पहिलो ३–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा ३–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । चेल्सीका लागि जिराउडले ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ७८औं मिनेटमा हुड्सनले गोल गरेपछि चेल्सीले डाइनामोलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।

 दोस्रो लेगको नतिजापछि चेल्सी समग्रमा ८–० गोलले विजयी भयो । यसअघि पहिलो लेगमा चेल्सी ३–० गोलले विजयी भएको थियो । 

यसैगरी आर्सनल समग्रमा ४–३ गोलको नतिजा निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो । पहिलो लेगमा ३–१ गोलअन्तरले पराजित भएको आर्सनलले उत्कृष्ट पुनगरागमन गर्दै ३–० गोलको जीत निकालेको हो । 

आर्सनलको जितमा इमेरिक आबुमेयाङले दुई तथा मैटल्यान्ड निलेसले एक गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो ।

खेलको पाँचौ मिनेटमा नै आबुमेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १५औं मिनेटमा निलेसले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । त्यस्तै, ७२औं मिनेटमा आबुमेयाङले गोल गर्दै आर्सनललाई युरोपा लिगको क्वाटरफाइनल पुर्‍याएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार