• २०७७ कार्तिक ८ शनिबार

कोरोनामा सरकारी आग्रहको बेवास्ता: स्वतन्त्रता कि छाडापन ?

जानी जानी मास्क नलगाउनेले फैलाए कोरोना

राजधानी काठमाडौं उपत्यका सहित देशका ७७ मध्ये आधाभन्दा धेरै जिल्लामा निषेधाज्ञा जारी छ । बीरगञ्ज, बिराटनगर,चितवन, बुटवल, नेपालगञ्ज जतासुकै लकडाउन, निषेधाज्ञालगायत अवस्था अनुसारका ब्यवस्था जारी गरिएको छ । यो सबै गर्नुका पछाडि राज्यले नागरिकहरुसंग मात्र एउटा अपेक्षा गरेको देखिन्छ– कोरोनाको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले कत्तिको प्रभावकारी काम गर्न सकेको छ वा छैन, त्यो मूल्यांकनको एउटा पाटो हो । तर भीडभाडकै कारण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्नसक्ने उच्च जौखिम रहेको कोरोनाको तीव्र प्रसार रोक्न हर एक ब्यक्ति जिम्मेवार हुनु जरुरी छ । सरकारले गएको चैत ११  गतेदेखि लगाएको देशब्यापी लकडाउन साउन पहिलो साता हटाएसंगै मुख्य शहरी क्षेत्र र बाक्लो जनसंख्या भएका स्थानहरुमा कोरोनाको संक्रमण र समुदायमा फैलावट बढेको बढ्यै छ । यतिमात्र होइन पर्याप्त लक्षणसहितका बिरामी देखा पर्ने र मृत्यु हुने संख्याको ग्राफ पनि दिनानुदिन उकालो लाग्दो छ । विगतमा ४–६ प्रतिशतमा मात्रै पुष्टि हुने गरेको कोरोना आईतबार १० प्रतिशतको हाराहारीमा पुगेको छ । लकडाउन गरेर मात्रै समस्याको समाधान नहुने भन्दै चौतर्फी दबाव बढ्दै गएसंगै सरकारले लकडाउन त हटायो, तर ४ महिना घरमा बन्दी बन्नुपर्दा पनि आम सर्वसाधारणमा सुरक्षाका उपाय अनिवार्य पालना गर्नुपर्छ भन्ने चेत पलाएन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो एउटा अनुसन्धानलाई आधार मान्ने हो भने अझै पनि २८ प्रतिशत नेपालीहरु घरबाहिर निस्कँदा मास्क लगाउँदैनन् । अझ सही ढंगले मास्क लगाउनेहरुको संख्या त केवल ६० प्रतिशतको हाराहारीमा रहेको उक्त अनुसन्धानको निष्कर्ष छ । 

चिकित्सकहरु भन्छन्, संक्रमित ब्यक्तिको थुकबाट कोरोना भाईरस अर्को ब्यक्तिमा सर्दछ । यदि भीडभाडमा निस्कनै पर्दा र कार्यक्षेत्रमा पनि नियमित मास्क लगाउन सकियो भने कोरोनाको जोखिमबाट बच्न सकिन्छ । जनस्वास्थ्य बैज्ञानिक समीरमणि दिक्षीतको भनाइमा त यदी सही तरिकाले मास्क लगाउने हो भने अरु सुरक्षाका उपाय नअपनाए पनि फरक पर्दैन । तर आफ्नो जीन्दगीसंगै हेलचक्¥याईं गर्दै मानिसहरु मास्क धारणमा असावधानी अपनाईरहेका छन् । 

सरकारले संक्रमितहरुको उपचारमा पर्याप्त काम गर्न सकिरहेको छैन, अस्पतालमा शैयाको अभाव छ, भेण्टिलेटर र आईसियुको अभाव छ, यो हामी सबैले पाँच महिनादेखि सुन्दै आएको विषय हो । तर यदि नियमित रुपमा मास्क लगाएर अत्यावश्यक बाहेकका काममा भीडमा ननिस्कने हो भने कोरोना त्यति सजिलै सर्दैन । तर समाचार, सूचना र विज्ञापन मात्र हैन मोबाइलका डायल टोन र रिंगब्याक टोनले समेत दिनमा ऋषिमुनिले गायत्री जप गरेभन्दा बढी पटक मास्क लगाउने अनुरोध दोहो¥याईरहँदा समेत पटक्कै टेर पुच्छर नलगाउने हरु नै कोरोनाका प्रसारक हुन्, संबाहक हुन् । 

सरकारले, जिल्लास्थित स्थानीय प्रशासनले र स्थानीय पालिकाहरुले पनि नियमित सूचना र अनुरोध गर्दै आएका छन् । भेला बैठक, समारोह गोष्ठी पूजापाठ जेसुकैका नाममा भीडभाड नगरौं । तर मानिसहरुलाई लुकी लुकी तीजको दर खान मन लाग्छ,साथीसंगी भेला पारेर रमाइलो गर्न मन लाग्छ । पछिल्लो समय राजधानीकै कागेश्वरी मनोहरा नगरपालिकामा एक शिक्षित र जानेबुझेकै महिलाले स्वाब संकलन गराएर आएको पर्सीपल्ट घरमा तीजको दर खुवाईन्, त्यो पनि ३०–४० जना भेला पारेर । दर खाएको भोलिपल्ट उनको रिपोर्ट आयो –कोरोना पोजेटिभ । अहिले स्वास्थयकर्मी र वडा कार्यालयलाई उनको सम्पर्कमा आएका र भोज खान जम्मा भएकाहरुको पहिचान गर्नै हम्मे छ । ढीलो चाँडो महामारी अन्त्य भएपछि चाडपर्व त अर्को वर्ष पनि मनाउन सकिन्छ । साथीसंगी भेला हुन वा बजार घुम्न त फेरि पनि पाईन्छ, यदि जीवन बाँच्यो भने । 

नेपालमा एकजनामात्र संक्रमित देखिंदा पुरै त्रसित भएका मान्छेहरु अहिले डेढ सय हाराहारीको मृत्यु भेसक्दा पुरै कोरोना नै हटेजसरी बाहिर निस्कनु र किनमेलको बहानामा दिनभरी बजार चाहर्दै हिड्नुले राज्य र प्रशासनलाई मात्र हैरान बनाएको छैन, मानिस आफैंले आफैंलाई जोखिममा धकेल्दैछ । अत्यावश्यकको परिभाषा राज्यले हैन ब्यक्ति आफैंले गर्न सक्नुपर्छ । अस्पतालको प्रेस्कृप्सन देखाएर साथी भेट्न जानेदेखि तरकारीको झोला बोकेर डेटिङ जानेसम्मका खुराफाती आईडिया जबसम्म आम सर्वसाधारणको दिमागबाट हट्न सक्दैन, तबसम्म कोरोनको संक्रमण बढ्दो क्रममै जाने निश्चित छ । 

राज्यले भनिरहेको अनिवार्य मास्कको ब्यवस्था अरु कसैका लागि नभएर मेरा लागि हो भन्ने हरएक सर्वसाधारणलै बुझ्न जरुरी छ । आफू एकजनाको असावधानीले पुरै परिवारको स्वास्थ्यमा जोखिम हुनसक्छ भन्ने कुरालाई मनन गर्ने हो र घर परिवारमा रहेका बालवालिका र ज्येष्ठ नागरिकको जीवनप्रति खेलवाड गर्दिन भन्ने एक दृढ संकल्पले तपाईं, समाज र राष्ट्रलाई नै गम्भीर क्षतिबाट जोगाउन सक्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार