• २०७७ असार २२ सोमबार

कोरोनाभाइरस महामारीको अझ ठूलो संकट आउन बाँकी रहेको डब्लुएचओको भनाई

विश्वभरमा कोरोनाभाइरस संक्रमितको संख्या एक करोडभन्दा माथि पुगेको छ । यो भाइरसका कारण पाँच लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले योभन्दा खराब परिस्थिति आउन बाँकी नै रहेको चेतावनी दिएको छ ।

डब्लुएचओ प्रमुख टेड्रोस अधनोम घेब्रेएससले विश्वभरका सरकारले संक्रमण कम गर्न ठीक नीतिको पालना नगरे अझ धेरै मानिस संक्रमित हुने बताएका छन् । उनले ‘भर्चुअल ब्रिफिङ’ मा भने, “हामी सबै चाहन्छौँ कि महामारी चाँडै सकियोस् । नियमित दैनिकीमा फर्कन पाइयोस् । तर तीतो सत्य यो हो कि हामी यो महामारीको अन्त्यभन्दा धेरै टाढा छौँ ।”

उनले केही देशले भाइरस नियन्त्रणमा प्रगति गरेको भए पनि विश्वस्तरमा भने महामारी फैलने गति झनै बढिरहेको उनको भनाइ छ । घेब्रेएससले भने, “डब्लुएचओले पहिचान गरे अनुसार राष्ट्रिय एकताको कमी, विश्व एकजुट हुन नसक्नु र विश्व अरु विभाजित हुनु जस्ता कारणले कोरोनाभाइरस फैलनमा पद्दत पुगिरहेको छ । त्यसकारण खराब समय आउन बाँकी नै छ ।”

कोरोनाभाइरसकै कारण कयौँ देशमा स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भइसकेको छ । विश्व अर्थव्यवस्था महामारीकै कारण खराब अवस्थामा पुगिसकेको छ । यस्तो वेला आएको डब्लुएचओको चेतावनी चिन्ताजनक छ ।

घेब्रेएससले जर्मनी, दक्षिण कोरिया अथवा जापानको बाटोमा हिँड्न अन्य देशलाई आग्रह गरेका छन् । अन्यको तुलनामा ती देश कोरोनाभाइरस नियन्त्रण गर्न सफल भएका छन् । यी देशले अधिक परीक्षण र ट्रेसिङबाटै भाइरस नियन्त्रणमा लिन सफल भएको डब्लुएचओको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार