• २०७७ असार १८ बिहीबार

नेपालमा उच्च गतिमा फड्को मारेको सिमेन्ट उद्योग र यसका चुनौती

नेपालको पहिलो सिमेन्ट कारखाना हिमाल सिमेन्ट उद्योग सदाको लागि बन्द भयो ।

सिमेन्ट उद्योगको चार दशक अवधिमा नेपाल सिमेन्टमा आत्मनिर्भर बनिसकेको छ । यससँगै नेपाली सिमेन्ट निर्याततर्फ उन्मुख हुन पुगेको समेत केही सरकारी अधिकारीहरुले विश्लेषण गर्न थालेका छन । अनौपचारिक सर्वेक्षणले नेपालमा अहिले हुने सिमेन्टकोे खपत बार्षिक ६० लाख मेट्रिक टन छ । तर नेपालमा अहिले नै झण्डै ७० लाख मेट्रिक टनभन्दा बढि सिमेन्ट उत्पादन हुन थालिसकेको छ । यस आधारमा भुकम्पपछिको पुर्ननिमार्ण र हाइड्रोपावर परियोजनाका कारणले खपतदर उल्लेखित तथ्याङकभन्दा बढि देिखएकाे हाे ।

विकास हुँदै गरेको गतिलाई हेर्दा स्थापित उद्योगले पूर्ण क्षमतामा उत्पादन थाले तत्काल निर्यात थाल्नैपर्ने अवस्था आउनेछ । हुनत नीजि क्षेत्रले सिमेन्ट उद्योगमा हात हालेको १५ बर्ष मात्रै पुग्यो । तर स्थापनाको ४१ औं वर्ष पुग्दा सिमेन्ट उद्योगको संख्या ४ दर्जन बढि पुगिसकेको छ । १५ बर्षदेखी निजी क्षेत्र सिमेन्ट उद्योगमा सक्रिय छन् ।

दश वर्षअघिसम्म औंलामा गन्न सकिने उद्योगका उत्पादन अहिले दश दर्जन बढि पुगेका छन । उद्योग मन्त्रालयमा भएको पछिल्लो तथ्याङक अनुसार नेपालमा वार्षिक एघार करोड बोराभन्दा बढी उत्पादन भईरहेको छ । बजार अनुपातलाई हेर्दा पाईपलाईनका ठुला परियोजना नआउदाँसम्म यो उत्पादन नेपालको लागि पर्याप्त रहेको उद्योग मन्त्रालयका सह–सचिव ऋषीराज कोइराला बताउछन् ।

जुन विद्यमान अवस्थामा उत्पादन भईरहेको छ, तर स्थापित उद्योगको क्षमता अहिले उत्पादन भएको सिमेन्टभन्दा दोब्बर छ । यद्यपी पाईपलाईनमा रहेका ठुला परियोजनाहरु हाइड्रोपावर, फास्ट ट्रयाक लगायतको काम शुरु भइहालेको अवस्थामा भने विद्यमान उत्पादन प्रणालीले समेत माग धान्न नसक्ने अवस्था पनि आउन सक्छ । तर उद्योगको निरन्तर व्यापारको अवस्था मुल्यांकन गर्दा नेपालको सिमेन्ट अन्तर्राष्ट्रिय बजारमा लैजाने पहल थाल्नुपर्ने कोइरालाको भनाई छ ।

त्यसो त वीरगञ्ज तथा भैरहवा क्षेत्रका उद्योगहरुबाट झण्डै एक हजार टन सिमेन्ट भारततर्फ निर्यात भइरहेको अनौपचारिक स्रोतको तथ्याङक छ । इतिहासलाई केलाएर हेर्ने हो भने नेपालकै पहिलो सिमेन्ट उद्योग हिमाल सिमेन्टले समेत नेपाली सिमेन्ट निर्यात गर्ने गरेको अहिलेपनि धेरैलाई थाहा छ । भारतीय बजार तथा चीनको स्वसाशित क्षेत्र तिब्बतमा समेत हिमाल सिमेन्ट निर्यात हुने गर्दथ्यो । नेपाल सरकारले चीनको तिब्बतबाट नेपाल भेडाच्याँग्रा ल्याउने र त्यसको बदला हिमाल सिमेन्ट दिने गरेको थियो ।

तर यो नेपालमै प्रशस्त सिमेन्टको माग हुदाँ हिमाल सिमेन्टपछि नीजि क्षेत्रको लगानीमा खुलेका अन्य उद्योगले समेत नेपाली सिमेन्ट निर्यात गर्न सकेनन् । तर नेपाली सिमेन्ट उद्योगको उत्पादन क्षमता र नेपाली बजारको खपत अनुपातलाई हेर्दा पछिल्लो समय भने तत्काल अन्तर्राष्ट्रिय बजार खोज्न बाध्य हुने देखाएको छ ।

नेपालमा उच्च गतिमा फड्को मारेको सिमेन्ट उद्योग: 

नेपाली सिमेन्ट उद्योगको इतिहास हेर्ने हो भने धेरै पुरानो छैन् । साढे तीन सय मेट्रिक टनको हिमाल सिमेन्टपछि हेटौंडा सिमेन्ट उद्योग प्रतिदिन सात सय ५० मेट्रिक टन र उदयपुर सिमेन्ट उद्योगको प्रतिदिन आठ सय मेट्रिक टन उत्पादन क्षमताका साथ सिमेन्ट उद्योग स्थापना भएका थिए । यसले नेपालको तत्कालीन बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको थियो । सिमेन्ट उद्योगमा नीजि क्षेत्रको प्रवेशसँगै नेपाली सिमेन्ट उद्योगले धेरै ठूलो फड्को मार्न सफल भइसकेको छ ।

दश वर्षअघिसम्म ९० प्रतिशत विदेशबाट आयात हुने गरेकोमा ६० को दशकको अन्त्यसम्म आइपुग्दा सिमेन्ट आयात घटेर कुल खपतको २० देखि २५ प्रतिशतमा सीमित बन्न पुगेको थियो । नेपाली सिमेन्ट उद्योग फस्टाएसँगै भारतीय सिमेन्ट आयात प्रतिस्थापन हुँदा वार्षिक अर्बौं रुपैयाँ बजेट घाटा बचत हुन पुगेको छ । सन् १९७४ मा पहिलो पटक हिमाल सिमेन्ट उद्योग स्थापना हुँदा नेपालीहरुमा खुसीको सीमा थिएन । तर, त्यही उद्योग स्थापनाको केही बर्षमै प्रदूषणको घाँडो बन्यो र जर्मन सरकारले निर्माण गरिदिएको उद्योग २०५९ सालबाट बन्द गर्नपर्नुे बाध्यत्मक अवस्था आयो ।

नेपालको इतिहासमा पहिलो सिमेन्ट उद्योग बन्द हुन पुगे पनि उद्योग स्थापनाको ४१ वर्षमा नेपाली सिमेन्ट उद्योग निर्यात उन्मुख बन्दै गएको छ । नेपालमा सन् १९६०को दशकबाट चीन, भारत, थाइल्याण्ड, जापानलगायतका थुप्रै देशहरुबाट सिमेन्ट आयात गरी प्रयोग गर्न सुरु गरिएको थियो । तर, ५० वर्षपछि आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित सिमेन्ट विदेश निर्यात गर्ने अवस्थामा पुग्नु आर्थिक समृद्धितर्फ अग्रसर भएको रुपमा समेत हेरिएको छ । सन् १९६० को दशकबाट चीन, भारत, थाइल्याण्ड, जापानलगायतका थुप्रै देशहरुबाट सिमेन्ट आयात गरी प्रयोग गर्न सुरु गरिएको नेपालमा त्यसको ठिक ५० वर्षपछि आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित सिमेन्ट विदेश निर्यात गर्ने अवस्थामा पुग्नु आर्थिक समृद्धिकै रुपमा समेत चित्रित गर्न सकिन्छ ।

ठुला आयोजनामा अझै अन्तर्राष्ट्रिय उत्पादनको बिगबिगीः

केही बर्ष अघिसम्म नेपालमा बिदेशी सिमेन्टको बाटो कुनुपर्ने अवस्था थियो । अहिले अवस्था फेरिएको छ । एक दशकमा नेपाली सिमेन्ट उद्योगमा भएको प्रगतिले सिमेन्ट उत्पादन बजारको मागभन्दा बढि देखिन थालेको छ । तर नेपाली बजारमा अन्तर्राष्ट्रिय सिमेन्ट बिस्थापित भने अझै भईसकेको छैन् । नेपाली बजारमा छ्यापछ्याप्ती बेचिने भारतीय सिमेन्टका कारण सरकारको गलत नीति भएको सिमेन्ट उद्योगीको आरोप छ । उनीहरुका अनुसार भारतीय सिमेन्ट आयात गर्दा घुमाउरो पारामा भन्सार र भ्याट छुट दिने सरकारी नीतिका कारण नेपाली सिमेन्ट स्वदेशमै पनि राम्रोसँग खपत हुन सकेको छैन ।

ठूला आयोजनामा सरकारले सम्झौता गर्दा नै विदेशबाट आयात हुने सिमेन्टमा भन्सार र भ्याट दुवै छुट दिने हुँदा आयोजनाहरुले १३ प्रतिशत भ्याट बचाउनकै लागि भारतीय सिमेन्ट आयात गरिरहेको अवस्था विद्यमान छ । अहिले यस्ता आयोजनामा बिदेशी उत्पादनको प्रयोगमा भारी कटौती हुँदै आएपनि ठूला आयोजनामा सरकारले दिने भन्सार छुट नेपाली उद्योगीहरुमा लागु नभएकाले पुरै बन्द नभएको नेपाल सिमेन्ट उत्पादक संघको बुझाई छ । सरकारको यही नीतिका कारण ठूला आयोजनाको नाममा वार्षिक अर्बौंको सिमेन्ट नेपाल भित्रिने गरेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा बताउछन ।

बरु तीब्र गतिमा सिमेन्ट उद्योगको बिस्तार हुदै जाँदा नेपाली बजारमा मात्रै खपत सम्भव नहुने भएकाले नेपाली सिमेन्टलाई यथाशिघ्र भारत तथा तेस्रो देशमा निर्यातको लागि समेत पहल थाल्न सकिने थापाकोे भनाई छ । सरकारले नेपाली सिमेन्टलाई अन्तर्राष्ट्रिय बजारमा लैजान माथिल्लो स्तरबाटै ठोस योजना अघि सार्नुपर्ने उनकोे धारणा छ ।

त्यसो त सरकारले सिमेन्ट निर्यातको लागि कुनै योजनासमेत बनाएको देखिँदैन । सरकारले पहल गरेको खण्डमा भारत, बंगलादेश, श्रीलंका, दक्षिणी तिब्बतमा निर्यात गर्नसक्ने सम्भावना उच्च रहेकाले सिमेन्ट निर्यात गरी विदेशी मुद्रा आर्जनको माध्यम बनाउनेतर्फ सरकार, नीजि क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।

नेपाली उद्योगीहरुको दाबीसँग नमिल्ने सिमेन्ट उत्पादनको तथ्याङक: 

सिमेन्ट व्यवसायीका अनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर छ । बरु पुर्ण क्षमतामा उद्योगले उत्पादन थाले निर्यात अनिवार्य हुने दाबी गर्छन् तर यो दाबी पत्याईहाल्ने अवस्था भने देखिदैन् । पछिल्लो तथ्याङकलाई हेर्दा अहिलेपनि नेपाल भित्रने सिमेन्टको परिमाण डरलाग्दो छ । आर्थिक बर्ष २०७३/७४ को ६ महिनामा आयात भएको सिमेन्टको तथ्याङकले अघिल्लो ६ महिनाभन्दा १ सय १६ प्रतिशतले बढेको देखाउँछ ।

२०७२/७३ मा सिमेन्ट आयात सामान्य घट्दै कुल ९ अर्ब २६ करोड ३३ लाख रुपैयाँको भित्रियो । यस आधारमा नेपाली उद्योगीहरु नेपालको सिमेन्ट उत्पादनको अवस्थाबाट हौसिएपनि आर्थिक बर्ष २०७३/७४ को पछिल्ला ६ महिनाको अवस्था हेर्दा नेपाली बजारमा अझै बिदेशी सिमेन्टको दबदबाले उनीहरुको दाबीलाई भुत्ते सावित गरिदिन्छ । सोही तथ्याङका आधारमा भन्ने हो भने यो समयमा मात्रै १३ अर्बको सिमेन्ट भित्रिएको छ ।

आर्थिक बर्ष २०७१/७२ मा कुल ९ अर्ब ३८ करोड रुपैयाँको आयात भएकोमा आर्थिक वर्ष २०७२/७३ मा घटेर ९ अर्ब २६ करोड मात्र आयात भएको थियो । सरकारले नेपाली उद्योगबाट उत्पादित र सिमेन्ट आयातित सिमेन्टमा छुट्छुटट्टै नियम लगाउँदा नेपालमा सिमेन्ट आयात हुने क्रम रोकिने भन्दा झनै बढेको उद्योेग वाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँनुहुन्छ । ‘विदेशी दातृ निकाय तथा सरकार नेतृत्व आयोजनामा भारतबाट सिमेन्ट ल्याउँदा नेपालमा निर्माणाधिन आयोजनाकै नाममा बिल काटेर कर छुट लिन पाउँने नियम भएपनि स्वदेशी उत्पादनमा यस्तो नियम नभएकाले यो क्रम नरोकिएको उहाँको तर्क छ ।

सरकारी तहमा यहि प्रक्रियागत जटिलताका कारण नेपालमा सञ्चालित ठुला आयोजनाले छुटका नाममा भारतबाट सिमेन्ट आयात गर्दा आयातदर बढेको उहाँको बुझाई छ । साथै पछिल्लो समय दातृनिकाय र सरकारबाट संचालित आयोजना बन्ने क्रम बढेकाले पनि सिमेन्ट आयात बढेको हुनसक्छ ।

नेपालमा पहिलोपटक सिमेण्टमा अन्तर्राष्ट्रिय लगानी भित्राएको शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोयल पनि पछिल्लो समय नेपालमा सिमेन्टको माग उच्च बढेको र दुई पक्षीय आयोजनामा आयातित सिमेन्ट मात्र प्रयोग गर्ने भएकाले आयात बढेको बताउनुहुन्छ । साथै दातृनिकायबाट संचालित आयोजनाले सिमेन्ट आयात गर्दा भन्सार छुट पाउने हुँदा नेपाली उद्योगबाट उत्पादित सिमेन्टभन्दा सस्तो पर्न भएकाले नेपाली उद्योगबाट उत्पादित सिमेन्टभन्दा आयातित सिमेन्ट प्रयोग गर्दै आएको गोयलको बुझाई छ ।

नेपाली उद्योगबाट उत्पादित सिमेन्टमा गाँलाकाटाकै प्रतिष्पर्धामाः

पछिल्लो समय नयाँ उद्योगको स्थापना र भएका उद्योगले क्षमताबृद्धि गर्दै जाँदा नेपाली बजारमा सिमेन्ट उद्योग गाँलाकाँटाको प्रतिष्पर्धामै उत्रिएको छनक आउन थालेको छ । यसले स्वभाविक रुपमा उपभोक्तालाई प्रत्यक्ष अप्रत्यक्ष फाईदा पुगेको छ । उत्पादनको प्रतिष्प्रर्धा हुँदा यसको गुणस्तर, मुल्य, उपलब्धताका कारण उपभोक्ताले केही न केही लाभ लिएकै छन् । एउटा सिमेन्टले राखेको मुल्यभन्दा अर्को सिमेन्टको मुल्य तुलनात्मक रुपमा कमि आउनुमात्रै होइन । व्यापारमा विभिन्न स्किमहरुमार्फत ग्राहकलाई आर्कषित गर्ने नयाँ नयाँ रणनीतिहरु बजारमा देखिन थालेका छन् ।

नेपालमा उत्पादित एंव बहुसख्यत ग्राहकले रुचाएका जगदम्बा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, शिवम सिमेन्ट, यूनाईटेड सिमेन्टजस्ता नेपाली बजारमा चलेका सिमेन्टका उत्पादक कम्पनीको आफनो उत्पादनबारे आ–आफ्नै खालको दाबी रहँदै आएको छ । यद्यपी झण्डै ५ दर्जन उद्योगले उत्पादन गरेको ९ दर्जन ब्राण्डका सिमेन्टहरु बजारमा पाईने भएकाले ग्राहकलागी भने मुल्य, गुणस्तर र उपलब्धताका हिसाबले आफुले चाहेकै सिमेन्ट रोज्ने अवसर अहिले विद्यमान छ । यसका लागी उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनबारे आ–आफ्ना धारणा सामाजिक सञ्जाल, पत्रपत्रिका विज्ञापनमार्फत सार्वजनिक गर्दै आएका छन् ।

आफ्नै किलिङकर उद्योग नभएपनि विगत १५ बर्षदेखी भारतबाट किलिङकर आयात गरी सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको जगदम्बा सिमेन्टले आफुले बजारमा गुणस्तरीय सिमेन्ट मार्फत ग्राहकको मन जितिसकेको बुझाई छ । आफुले सिमेन्ट उत्पादन तथा बिक्री गर्नेमात्रै होइन यसको प्रयोगतिविधि लगायत अन्य जनचेतनामुलक कार्यक्रममार्फत बलिया संरचना निर्माणमा सहयोग गर्दै आएकाले ग्राहकको विश्वास जितेको जगदम्बा सिमेन्टका ब्राण्ड म्यानेजर जगन्नाथ दाहाल बताउँछन् ।

आफ्नै किलिङकर उद्योगसहित लामो समयदेखी दैनिक २५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँची सिमेन्टले ग्राहककै मागअनुसार अहिले क्षमताबिस्तारमा लागेको छ । अबको केही समयभित्रै २५ हजारबाट बढाएर दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन थाल्ने तयारी गरेको अर्घाखाँची सिमेन्टले क्षमता बिस्तारको तयारीलाई ग्राहकको आफुप्रतिको बिश्वासको प्रतिफल भएको दाबी गदर्छ । आफ्नै किलिङकर उद्योगमार्फत उत्पादित अर्घाखाँची सिमेन्ट नेपालको विद्यमान परिस्थिती र कानुनी झण्झटका कारण बोरामा ३३ ग्रेड लेखेपनि आफुहरुले ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको दाबी गर्दछ । “मुर्खता नगरौं सहि सिमेन्ट नै रोजौं” भन्ने स्लोगनसहितको आक्रमक विज्ञापनसहित बजारमा उत्रिएको अर्घाखाँची सिमेन्ट नै सहि मुल्यको उत्कृष्ट सिमेन्ट भएको अर्घाखाँची सिमेन्टको बजार पर्वद्धन प्रमुख रमेश थापाको भनाई छ ।

यसो त सरकारले गुणस्तरका विषयमा सिमेन्टमा लागु गरेको अनिवार्य शर्तका कारण आम उपभोक्ताले सिमेन्ट किन्दा सबैभन्दापहिले यसको गुणस्तरको बारेमा ख्याल गर्ने गरेका छन् । यहि कारण सिमेन्ट उद्योगमा गुणस्तर पहिलो शर्त बन्ने गरेको छ । गुणस्तरसँगसगै नेपाली बजारमा आर्कषक अन्य योजनासहित नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय लगानीमा सञ्चालित शिवम् सिमेन्टप्रति पनि पछिल्लो दिन आम ग्राहकको आर्कषण बढ्दो छ ।

कहिले सिमेन्टकै बोराभित्र चाँदीका सिक्का त कहिले “२० बोरा किन्दा १ बोरा सित्तैमा” दिने योजना अघि सारेको शिवम् सिमेन्टले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने कम्पनीको दाबी छ । सोही कारण अहिलेपनि शिवम् सिमेन्टले ग्राहकको माग धान्न नसकेको शिवम सिमेन्टका ब्राण्ड म्यानेजर केशव अर्याल बताउँछन् । आफ्नै दक्ष प्राविधिक जनशक्तिमार्फत केमिकल टेष्ट गरी उत्पादन हुने सिमेन्ट सहि मुल्यको उत्कृष्ट सिमेन्ट भएको उनको दाबी छ । लामो अनुभव, दक्ष प्राविधिक जनशक्ति, सुलभ मुल्य र उत्कृष्ट गुणस्तरसहित बजारमा आएकाले नै शुरुवातमा नै माग धान्न नसक्ने अवस्था आएको अर्याल बताउँछन् ।

बजारमा पछिल्लो समय विशेषगरी उपत्यका र यस आसपासका क्षेत्र बढि रुचाइएको यूनाईटेड सिमेन्टको दाबी पनि उस्तै छ । ललितपुरको लेलेमा आफ्नै किलिङर उद्योगमार्फत किलिङर उत्पादन तथा धादिङ जुगेडीमा ड्रेनिङ्ग तथा प्याकिज गरी बिक्रि गर्दै आएको यूनाईटेड सिमेन्टले पनि आफ्नो उत्पादन उत्कृष्ट गुणस्तरको भएको दाबी गर्छ । हरेक १५ बोरा खरिदमा १ बोरा सित्तैमा दिने योजना सहित बजारमा आक्रमक उपस्थिती जनाउँदै आएको यूनाईटेड सिमेन्ट मजवुत निर्माणको पर्याय बनेको यूनाईटेड सिमेन्टका ब्राण्ड म्यानेजर सुवास खतिवडा बताउँछन् ।

सिमेन्टको गुणस्तर यसको ताजापनमा पनि भरपर्ने भएकाले आफुहरुले उत्पादन तथा प्याकेजिङ निमार्णस्थलमै पठाउने गरेको खतिवडाको भनाई छ । उपत्यका नजिकै आफ्नै उद्योगको किलिङकरमार्फत उत्पादन हुने यूनाईटेड सिमेन्ट उचित मुल्यको उत्कृष्ट गुणस्तरको सिमेन्ट भएकाले युनाईटेड सिमेन्ट नै ग्राहकको पहिलो रोजाई हुनुपर्ने उनको तर्क छ ।

यसो त नेपालमा उत्पादित सिमेन्टहरुको गुणस्तरमा खास भिन्नता नहुने जानकारहरु बताउँछन् । तर चलनचल्तीमा आईसकेका सिमेन्टको दाँजोमा नयाँ उत्पादनहरुले गुणस्तरप्रतिको आंशकाकै कारण अपेक्षित बजार लिन नसक्ने अनुभव सुनाउँछन्, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रब थापा । जसका कारण सोही गुणस्तरमा अझै कम मुल्यमा नयाँ सिमेन्ट बजारमा आउदाँपनि पुरानै सिमेन्टको दबदबा कायम रहनेगरेको उनको ठम्याई छ ।

यहि कारण तत्कालै गलाकाँटको प्रतिष्पर्धामा उत्रिएपनि पुराना सिमेन्टको तुलनामा नयाँ उत्पादन कम मुल्य पर्ने आधारमा मात्रै छनौट गर्ने गरेको अध्यक्ष थापा बताउँछन् । यस्तो अवस्थामा स्थापित एंव पुराना उद्योगले सोही गुणस्तरको सिमेन्ट तुलनात्मक रुपमा समान मुल्यमा वितरण गरिरहेकाले नयाँ उद्योगमाथी चुनौती रहेको उहाँको तर्क छ । यस्तो अवस्थामा झन पछि झन ठूलो क्षमतामा खुलेका उद्योगले अन्तर्राष्ट्रिय बजार नखोज्ने हो भने मोटो लगानी बालुवामा पानी हुने उद्योग मन्त्रालयका सहसचिव कोईरालाको बुझाई छ ।

सिमेन्टमा अन्तर्राष्ट्रिय लगानी र यसको प्रभावः

स्वदेशी लगानीका सिमेन्ट उद्योगसँगै नेपालमा विदेशी लगानीका मल्टी बिलिनियर कम्पनीहरु भित्रिएका छन् । सरकारले पछिल्लो समय बैदेशिक लगानीलाई आर्कषित गर्न अघि सारेका विभिन्न रणनीतिहरुअनुसार नै यस क्षेत्रमा बिदेशी लगानीकर्ताको प्रवेश हुन थालेका हो । नेपालको आर्थिक विकासमा बैदेशिक लगानीको अपरिहार्यताको बहस चलिरहदाँ नेपालका सिमेन्ट उद्योगीहरु भने अन्तर्राष्ट्रिय लगानीका ठूला उद्योगले नेपाली उद्योगलाई धाराशायी बनाउने त्रासमा छन् ।

सानो लगानीमा सञ्चालित नेपाली उद्योगहरु एक्कैपटक मल्टी बिलिनियर कम्पनीहरुहरुसगँ प्रतिष्प्रर्धामा उत्रन सक्ने अवस्था नहुने नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्ष थापाको भनाई छ । ठूला माछाले साना माछालाई खाएजस्तै विदेशी लगानीका ठूला उद्योग आएपछि स्वदेशी लगानीका साना उद्योगहरु समस्यामा पर्ने उहाँको तर्क छ । उहाँले थप्नुभयो, नेपाली उद्योगले नेपाली बैंकहरुबाटै लोन लिएर उद्योग सञ्चालन गरिरहेकाले छन् ।

विदेशी कम्पनीहसँग लगानी धेरै हुन्छ लोन लिर्नुपरे अन्तर्राष्ट्रिय एंव ठूला बैंकहरुबाट लिन सक्छन् । दक्ष जनशक्ति र प्रविधि पनि अत्याधुनिक हुन्छ । जसले गर्दा स्वदेशमा सञ्चालन भइरहेका कम्पनीहरु धाराशायी हुने अवस्था सिर्जना हुन्छ । यसको लागि सरकारले पनि सोचिदिनुपर्छ र नेपालमा सञ्चालन भएका सिमेण्ट उद्योगीहरुको लगानी सुरक्षित हुनुपर्छ ।

सिमेन्ट उद्योगमा बिद्यमान समस्या

केही समयअघिसम्म नेपाली उद्योगले भोग्नुपरेको सबैभन्दा ठूलो समस्या लोडसेडिङ नै हो । तर अहिले नेपालमा भएका पछिल्ला प्रयासहरुले अवस्था त्यस्तो छैन । यद्यपी यी पहलहरु अल्पकालिन भएकाले लोडसेडिङ पुरै अन्त्य भएको भनेर ढुक्क हुने अवस्था भने अझै छैन ।

यसबाहेक राजनीतिक अस्थिरता, मजदुर आन्दोलन, ढुवानीका लागी स्तरिय सडक सञ्जालको अभाव, बन तथा वातावरणसम्बन्धी झण्झटिलो कानुन, उद्योगका लागी प्रशस्त जग्गा आवश्यक पर्ने भएकाले भूमिसुधारसम्बन्धी झण्झटिलो नियमका साथै चुनढुंगा सञ्चालनका लागि स्थानीयस्तरमा बेला बेला उत्पन्न अवरोध एवं उद्योग आसपासका स्थानीयले बेला बेला अनावश्यक झमेला उत्पन्न गर्ने गरेकाले नेपाली सिमेन्ट उद्योग अझै तप्कनीकै बीचमा छ भन्दा अन्याथा नहोला ।

यसबाहेक सरकारी कामकाजमा हुने ढिलासुस्ती, राजनीतिक दलहरुको चन्दा आंतक, लगायतका कारण पनि नेपाली सिमेन्ट उद्योग अझै निर्वाध रुपमा चल्न नसकेकोे सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा बताउनुहुन्छ । यसबाहेक पछिल्लो समय नेपालमा जुन रुपमा उद्योग बिस्तार हुँदैछ सोही अनुसार बजार बिस्तारका लागी वातावरण नबनेको व्यवसायीको गुनासो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार