• २०७७ असार १८ बिहीबार

३० किलो राहत बुझेको कागजमा सहि गराएर बिपन्नका हातमा ७ केजी चामल

स्थानीयको सरकारको कुरुप अनुहार , राहतमा मनपरी

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९ को राहत वितरण गर्दा केसम्म गरिएन ? ३० किलो चामलमा हस्ताक्षर गराएर दिइयो ७ किलो मात्रै । आश्चर्यको विषय यस्तो नक्कली काममा नगरपालिका संस्थागत रूपमा संलग्न छ ।

बाजुराको बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न भनेर वडा कार्यालय पुगिन् । कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनले बिचल्लीमा परेका गरीब, असहाय र श्रमिक परिवारलाई नगरपालिकाले वडा कार्यालय मार्फत राहत बाँड्दै थियो ।

राहतले केही दिनको भए पनि गुजारा चल्ने आशमा वडा कार्यालय पुगेकी बिन्द्रा त्यहाँबाट फर्कंदा भने निराश भइन् । वडाले दिएको राहतले १३ जनाको उनको परिवारलाई त्यही दिन बेलुकीको छाक मात्रै ट¥यो । “३० किलो चामल अनि दाल र तेल पाइन्छ भनेकाले केही दिनलाई ढुक्क भो भन्ने लागेको थियो, तर त्यो चामलले साँझको छाक पनि मुश्किलले ट¥यो” बिन्द्राले भनिन्, “हामीलाई पाँच किलो चामल दिए, वडा कार्यालयले नगरपालिकामा भने ३० किलो दियौं भन्ने लेखेर पठाएछ ।”

बडिमालिका–९, सनाईबाडाका दल सनाईको आशा अझ ठूलो थियो । १५ जनाको परिवार पाल्न धौ–धौ भइरहेका उनी नगरपालिकाले दिने राहतले केही दिनको गर्जो टर्ने आशामा थिए । तर, नगरपालिकाले दिएको सात केजी चामलले उनको घरमा दुई छाक टार्न मुश्किल प-यो ।

राहतको ८० करोड मृत्यु भईसकेका व्यक्तिको नाम राखेर जनप्रतिनिधी र कर्मचारीले कुम्लाए

“३० किलो चामल पाएको कागज बनाएछन्, तर मैले सात किलो मात्रै पाएँ”, दलले भने । बडिमालिका नगरपालिकाले तयार पारेको वडा नम्बर ९ को राहत पाउने सूचीमा उनको नाम ६८औं नम्बरमा छ । त्यसमा उनले ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन बुझिलिएको उल्लेख छ । तर, उनले पाएको जम्मा सात केजी चामल मात्रै हो ।

बडिमालिका–९ मा राहत पाउने सूचीको पहिलो नम्बरमा खुड्के चदाराका छोरा जहरे चदाराको नाम छ । नगरपालिकामा रहेको सूचीमा उनले ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन बुझेको विवरण छ । तर, आफूले जम्मा सात केजी चामल, एक केजी दाल र एक प्याकेट नून मात्रै पाएको उनी बताउँछन् ।

बडिमालिका–९ मा जम्मा १७९ परिवारलाई राहत वितरण गरिएको र सबैलाई ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन दिइएको नगरपालिकाको विवरणमा उल्लेख छ । विडम्बना उनीहरू कसैले पनि यो विवरण अनुसारको राहत पाएका छैनन् ।

बाजुराको बढीनन्दा नगरपालिकाको पाटनमा भेडा चराउँदै भोटे समुदाय । उनीहरुलाई पनि कोरोनाको नाममा प्रति परिवार ५ किलो चामल वितरण गरिएको छ ।

बाजुराको बढीनन्दा नगरपालिकाको पाटनमा भेडा चराउँदै भोटे समुदाय । उनीहरुलाई पनि कोरोनाको नाममा प्रति परिवार ५ किलो चामल वितरण गरिएको छ ।

यस्तो किन त ? खोज्दै जाँदा महामारीको असरले हदैसम्म सताएका यहाँका गरीब र असहायले पाउने राहतमा पनि स्थानीय सरकारले ¥याल चुहाएको भेटियो ।

नगरपालिकाको अभिलेख अनुसार, बडिमालिका नगरपालिकाले ९ वटै वडामा लकडाउनको मारमा परेका गरीब र असहायलाई राहत वितरण गरेको छ । तर, त्यसको बिल भर्पाई एकथरी छ भने राहत पाउनेको यथार्थ अर्कै छ । जस्तैः पानी पिउने प्लाष्टिकको मगलाई दुई केजीको भाँडा मानेर चामल र दाल वितरण गरिएको छ । तर, बिल भर्पाईमा त्यसरी ३० केजी दिइएको देखाइए पनि सात केजीभन्दा बढी कसैले पाएका छैनन् । कोही कोहीलाई त दुई केजी चामल दिएर ३० केजीको भर्पाईमा सही गराइएको छ ।

अर्थ मन्त्रालयले जारी गरेको ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६’ मा प्रत्येक परिवारलाई ३० केजी चामल लगायतका राहत सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कागजी रूपमा यो मापदण्ड पालना गरिएको झूटो विवरण तयार पारिएको छ । यहाँ कसैले पनि सरकारी मापदण्ड अनुसार राहतमा पाएका छैनन् ।

मापदण्ड अनुसार राहत वितरणको विवरण वडा, नगरपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमा हुबहु जानुपर्छ । मापदण्डको दफा ५ को उपदफा एकमा खाद्य आवश्यकताको आधारमा गरीब, असहाय र श्रमिकलाई प्रतिपरिवार ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी (प्याकेट) नून, दुई केजी चिनी र चारवटा साबुन राहतस्वरुप वितरण गरिने उल्लेख छ । दुई जनासम्मको परिवार भएमा यसको आधा र तीन वा त्यसभन्दा बढी परिवारका सदस्य भएमा पूरै राहत दिनुपर्ने व्यवस्था मापदण्डले गरेको छ ।

तनहुँमा मान्छे, बाजुरामा राहत

बडिमालिका नगरपालिका–८ मा राहत वितरण गरिएकालाई प्रतिपरिवार मापदण्डमा उल्लेख भएअनुसार पूरै राहत वितरण गरिएको उल्लेख छ । बडिमालिका–८, कोठ्याराकी पार्वती रावल र नन्दा रावलको नाम पनि पूरै राहत पाउनेको सूचीमा छ । तर, यहाँ कसैले पनि पाँच केजी चामल, एक प्याकेट नून र एउटा साबुनबाहेक बढी केही पाएका छैनन् । पार्वती भन्छिन्, “हाम्रो नाममा लेखिएको राहत कसले खायो, खोजी गर्नुपर्ने भएको छ ।”

बडिमालिका–८ का वडाध्यक्ष प्रकाश रावल आफ्नो वडामा चामल वितरण गर्दै ।

पार्वती र नन्दा जस्तै यो वडामा पूरा राहत पाउने सूचीमा रहेका १५९ जनाले नै पाँच केजी चामलभन्दा बढी राहत पाएका छैनन् । अझ अनौठो उदाहरण हेरौंः वडा कार्यालयले तयार पारेको राहत वितरण सम्बन्धी विवरणमा अहिले तनहुँमा रहेका व्यक्तिले समेत राहत पाएका छन् । विवरणमा समेटिएका पविन्द्र शाहीलाई १५ केजी चामल वितरण गरिएको उल्लेख छ । तर, शाही अहिले तनहुँमा बस्छन् र तनहुँको म्याग्दे गाउँपालिकाको रोजगार संयोजकको भूमिकामा काम गरिरहेका छन् ।

शाहीले तनहुँबाट भने, “नगरपालिकाले मेरो नाममा झूटो विवरण बनाएछ, मलाई राहत आवश्यक नै छैन । आवश्यक परे म आफैं नगरपालिकालाई राहत जुटाइदिन सक्छु । यसरी झूटो विवरण तयार पारेर राज्यकोषको पैसा दोहन गर्नेलाई कारबाही हुनुपर्छ ।”

बडिमालिका नगरपालिका–२, माझीगाउँका नन्दे दमाईको आठ जनाको परिवार छ । सरकारले बनाएको मापदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो । तर, पाए १० केजी चामल, एक केजी नून र तेल एक लिटर मात्र । पूरै राहत पाउनुपर्ने बडिमालिका नगरपालिका–२ की धौली साउले पनि १० केजी चामल, एक केजी दाल, एक लिटर तेल र एक केजी नून मात्र पाइन् । मापदण्ड अनुसार आधा राहत पाउनुपर्ने बडिमालिका–१, सल्यानाका रामबहादुर कार्कीले पनि आठ केजी चामल, एक केजी दाल, एक केजी नून र एक लिटर तेल मात्र पाए ।

बडिमालिका–२, माझीगाउँका रंगी दमाईको नौ जनाको परिवार छ । मापदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो । तर, पाए २० केजी चामल, एक केजी दाल, एक केजी चामल र एक लिटर तेल मात्रै । आठ जनाको परिवार रहेका बडिमालिका–७, ढम्कनेका बुदे धामीले पनि १० केजी चामल, एक केजी दाल, एक केजी नून र एक लिटर तेल मात्र पाए ।

१३ जनाको परिवार रहेका सोही गाउँका अंगे रोकायाले पनि १९ केजी चामल, दुई केजी दाल, दुई केजी नून र दुई लिटर तेल पाए । मापदण्ड अनुसार उनले पूरै राहत पाउनुपथ्र्यो । सरकारी मापदण्डमा सम्बन्धित वडाले राहत वितरण सम्बन्धी अभिलेख साप्ताहिक रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर, राहत वितरणमा बदमासी गरिएकै कारण बडिमालिका नगरपालिकाले राहत वितरणको अभिलेख सार्वजनिक गरेको छैन ।

हलिया समेत ठगिए

सुदूरपश्चिमको पहाडमा गरीब, दलित परिवारलाई चक्रीय ऋणको जालोमा पार्ने र त्यसको ब्याजका नाममा पुस्तौंसम्म आफ्नो घर–खेतमा काम गर्न राख्ने हलिया प्रथा दास प्रथाकै एउटा अवशेष थियो । त्यो अन्त्य भएको घोषणा भएको पनि १२ वर्ष भयो ।

बडिमालिका–९ उखाडीको हलिया बस्ती ।

२०६५ सालमा गरिएको हलिया मुक्तिको घोषणापछि सरकारले मुक्त हलियाको व्यवस्थापनका लागि भन्दै ठूलो धनराशि खर्च गर्दै आएको छ । तर, मुक्त हलियाको जीवनस्तर सुध्रिएको छैन । बरु कमाइखाने जग्गाजमीन र आम्दानीको कुनै बाटो नहुँदा यो समुदाय जहिल्यै भोकमरीको चपेटामा पर्छ । लकडाउनमा सबभन्दा बढी पीडामा पनि हलिया नै परे । तर, तिनै हलियालाई पनि कोभिड–१९ को राहत वितरणमा ठगिएको छ ।

बडिमालिका–९, उखाडीमा पूर्व हलियाको एउटा बस्ती छ । तर, यहाँका मुक्त हलियाले आजसम्म कुनै सरकारी सेवासुविधा पाएका छैनन् । लकडाउनको असरबाट जोगाउन नगरपालिकाले दिने राहतमा पनि उनीहरूमाथि उही व्यवहार भएको छ, कागजमा पूरै राहत पाएको देखाएर थोरै राहत दिइएको छ ।

जस्तो कि हीरा चदाराको सात जनाको परिवार छ । आफ्नो खेतबारी छैन । आम्दानीको कुनै स्रोत छैन । पहिले साहूको खेतबारीमा काम गरेर परिवार पाल्ने हीराले हलिया मुक्तिको घोषणापछि त्यो काम पनि गुमाइन् । त्यसपछि बगरको बालुवा सदरमुकामसम्म बोकेर गुजारा चलाउँदै आएकी उनले लकडाउनपछि त्यो काम पनि गुमाइन् ।

दुई छाक टार्न सकस परेको वेला नगरपालिकाले राहत दिने कुराले हीरालाई हौस्यायो । केही दिनलाई भए पनि समस्या ट¥यो भन्ने लाग्यो । तर, वडा कार्यालयबाट राहत बुझेर फर्कंदा उनी खिन्न थिइन् । “मलाई सात किलो चामल, एक पोको तेल र आधा किलो दाल दिए । ‘यति चामलले मेरो परिवारको निधारमा अक्षता लगाउनू’ भनेर सोधें, उनीहरूले ‘सबैलाई यति नै दियौं, तिमीलाई कहाँबाट बढी ल्याएर दिनू’ भनेर फर्काए”, हीराले सुनाइन् ।

नगरपालिकाले बनाएको सूचीमा भने उनले पूरै राहत पाएको उल्लेख छ । हीरा भन्छिन्, “हामीलाई कम दिए, कागजमा पूरै लिएको भनेर सही गराए । सरकारले दिने सहयोग पनि हाम्रो हातमा जस्ताको तस्तै कहिल्यै आउँदैन, जहिल्यै ठगी हुन्छ ।”

हीरासँगै राहत बुझ्न गएकी विमला विश्वकर्माले पनि दामासाहीले बाँडिएको चामल बोकेर फर्केको बताइन् ।  “राहत दिने भनेर मेलकाँधमा बोलाए, सात किलो चामल, एक पोको तेल र आधा किलो दाल दिए” उनले भनिन्, “सरकारले धेरै दिने भनेको थियो, हाम्रो हातमा थोरै प¥यो ।”

लुहारले ३० केजी चामल, तीन केजी दाल, दुई लिटर खानेतेल, दुई केजी नून, दुई केजी चिनी र चारवटा साबुन पाएको नगरपालिकाको विवरणमा उल्लेख छ । हामीले उनलाई सोध्यौं, तपाईंले यो सबै पाउनुभयो ? उनले भने, “यो झूटो हो । हाम्रो नाममा आएको राहत नेताले खाइदिए । गरीबले पाउने राहत काटेर खाइदिने नेतालाई कारबाही हुनुपर्छ ।”

यसैगरी राहतमा ठगिएका शौरे लुहारले भने, “रेडियोले फुके अनुसार राहत नदिएपछि हामीले सोध्यौं । उनीहरूले हाम्रो वडा ठूलो भयो, सबैलाई पु¥याउनुपर्ने भएकाले अलि अलि दिएको हो भनेर टारे ।” खेती गर्ने जग्गाजमीन र आम्दानीको अरू केही बाटो नभएका पूर्व हलियाको भाग पनि खोसेर खाइदिएको भन्दै उनले गुनासो गरे, “हामी भोकानांगा मानिसलाई दिएको राहत पनि खाइदिनेहरूलाई पाप र धर्म भन्ने त लाग्ला नि !”

सोही बस्तीकी माता लुहारले ६ केजी भन्दै पानी पिउने जगले तीन जग चामल दिएपछि ‘राहत यति मात्रै हो र’ भनेर सोधेकी थिइन् । “तिमीहरूले पाउने यति नै हो, योभन्दा बढी के हामीले घरबाट ल्याएर दिने भनेर उल्टै थर्काए” उनले भनिन्, “कागजमा चाहिं ३० किलो चामल पाएको भनेर लेखेछन् ।” गिट्टी कुटेर गुजारा गर्ने उनको लकडाउनले गुजाराको त्यो उपाय पनि खोसिदिएको छ ।

‘भोटेका दुःख देखेनन्’

बाजुराको हिमाली क्षेत्रमा भोटे समुदायको बसोबास छ । उनीहरू भेडा, च्याङ्ग्रा, याक र खच्चर पाल्छन्, त्यसबाटै मालसामान ढुवानी गरेर आफ्नो जीविका चलाउँछन् । हिउँदमा बेंसी र वर्षात्मा हिमाली भेगमा बस्तुभाउ चराउन लैजाने उनीहरूलाई खेती गर्ने फुर्सद हुन्न । हुन त खेती गर्ने जग्गाजमीन नै पो कहाँ छ र ! लकडाउनले उनीहरूको ढुवानीको काम ठप्प छ र त्यसले गुजारा संकटमा परेको छ ।

बडिमालिका नगरपालिका–८, बाउँलीकी पार्वती भोटेको नाम नगरपालिकाबाट राहत पाउनेको सूचीमा ५१औं नम्बरमा छ । सूचीमा उनले ३० केजी चामल लगायतको राहत पाएको उल्लेख छ । पार्वती भन्छिन्, “जगले भरेर पाँच किलो चामल, एक किलो दाल र एक प्याकेट नून मात्र दिएका हुन् । अरू त उनीहरूले नै खाए होला ।”

पार्वती जति नै राहत पाएकी बाउँलीकै पासाङ्ग थापा भोटेले भनिन्, “काम केही गर्न पाइन्न, कहीं जान पाइन्न । जगले नापेर दिएको चामल दुई दिनमै सकियो । बाँच्न गाह्रो छ हजुर ।”

लकडाउनले एकातिर गुजाराकै संकट छ, अर्कोतिर त्यही गुजाराका लागि प्रयोग हुने भेडा र खच्चर कसरी जोगाउने भन्ने चिन्ता पनि थपिएको छ । बाउँलीकी तनी थापाले नगरपालिकाबाट पाइएको राहत दुई दिनमै सिद्धिएको गुनासो गर्दै भनिन्, “भेडा पाल्नेले नून पाएका छैनौं, खच्चर गधा पाल्नेलाई दाना भुसको समस्या छ । खेतबारी केही छैन, आफू कसरी पालिने, चौपाया कसरी बचाउने ?”

अर्थ मन्त्रालयको ‘असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६’  मिचेर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा मापदण्ड भन्दा थोरै रकम दिएर कागजमा धेरै देखाइएको छ । बडिमालिका नगरपालिकाको खर्चको विवरणमा १७ सय ७७ घरधुरीलाई राहत वितरण गरिएको देखाइएको छ ।

नगरपालिकाको विवरणमा चामल रु.१३ लाख ७७ हजार ९९३, नून रु.१९ हजार ६२९, दाल रु.३ लाख ६९ हजार ८५०, तेल रु.२ लाख ६९ हजार ७०५ बराबरको वितरण गरिएको उल्लेख छ । त्यस्तै साबुन रु.१ लाख ८५ हजार १५०, माक्स रु.१ लाख ५७ हजार ४००, प्लास्टिक रु.१ हजार ७५०, ढुवानी रु.१ लाख २९ हजार ५०० खर्च भएको देखाइएको छ । राहत वितरण गर्दा चिया खाजामा रु.३८ हजार ५१५, गाडीभाडा रु.१ लाख १३ हजार, सरसफाइ रु.७ लाख २४ हजार ३८५ र नगद वितरण रु.१२ लाख ३२ हजार ५०० देखाइएको छ ।

डिमालिका नगरपालिका–१ को । त्यो वडाको राहत वितरणको सूचीको क्रमसंख्या १३७ मा नाम समावेश गरिएकी पार्वती पण्डितले आठ केजी चामल, एक प्याकेट नून, एक प्याकेट तेल र एउटा साबुन पाएकी छन् । सोही नगरपालिका–२ का प्रभते कार्कीले चाहिं २० केजी चामल पाएका छन् । बडिमालिका–३ की फापु विष्टले सरकारी मापदण्ड भन्दा १० केजी कम अर्थात् २० केजी चामल, एक केजी दाल, एक प्याकेट नून, एक प्याकेट तेल र एक डल्लो साबुन पाएका छन् । त्यस्तै बडिमालिका–४ की पार भण्डारीले १० केजी चामल, एक केजी दाल, एक केजी नून र एउटा साबुन मात्र पाएका छन् । तर, उनीहरू सबैलाई मापदण्ड अनुसार नै राहत बुझेको कागजमा हस्ताक्षर गराइएको छ ।

बडिमालिका– ५ का जयबहादुर साउँदले पनि १० केजी चामल, एक केजी दाल, एक प्याकेट तेल र एक केजी नून पाएका छन् । वडा नम्बर–६ का रमेशबहादुर साउँदले समेत १० केजी चामल, एक केजी दाल, एक प्याकेट नून, एक प्याकेट तेल र दुइटा साबुन पाएका छन् ।

९ वटै वडामा सरकारको मापदण्ड अनुसार राहत वितरण गरिएको छैन । तर, राहत पाउनेलाई मापदण्ड अनुसार नै पाएको भर्पाइमा सही गराइएको छ । नगरपालिकाका उपप्रमुख कविता विष्टले जनताले राहत कम बुझेको तर कागजमा बढी पाएको भनेर सही गरेको बारे आफूलाई जानकारी नभएको बताइन् । उनी भन्छिन्, “राहत बाँड्ने कुनै पनि कार्यक्रममा म थिइनँ, मेयर कार्यकारी र वडाध्यक्षलाई यसबारे थाहा होला ।”

नगर प्रमुख पदम बडुवाल भन्छन्, “वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति निर्माण गरिएको छ । त्यसमा सबै दलका नेता छन् । नगरपालिकाबाट गएको राहत मापदण्ड अनुसार नै छ । तर मौखिक रूपमा गाउँमा राहत नपुगेपछि सबैलाई पु¥याउन खोज्दा थोरै भएको होला ।”


जिल्लामा राहत वितरणमा भएको ठगीको चर्को विरोध भएको छ । गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य काशी विश्वकर्माले भने “जनतालाई राज्यको मापदण्ड अनुसार राहत वितरण गरिएको छैन । वडाहरूले पानी हाल्ने जगले हचुवामा चामल वितरण गरेका छन् । तर ३० किलो चामल पाएको फर्जी कागजमा हस्ताक्षर गराइएको छ । यो सरासर भ्रष्टाचार हो, संलग्नलाई कारबाही गरिनुपर्छ ।”

नेकपाबाट बडिमालिका नगरपालिकाको प्रमुखमा पराजित गगन रावलले भने, “राज्यले जनतालाई दिएको राहतमा समेत लुट मच्चाउने छुट जनप्रतिनिधिलाई छैन । बढी राहत दिनुपर्ने ठाउँमा झन् घटाएर दिने अनि बढाएर हस्ताक्षर गराउनु भ्रष्टाचार हो । राहतमा पनि जनताको नाम बेचेर जनप्रतिनिधि मोटाउन खोजेका छन् ।”

लुकाउने प्रपञ्च    

यथार्थ यस्तो भए पनि नगर कार्यपालिका बैठकले (बैठक संख्या ४६, निर्णय नम्बर ३) भने सम्पूर्ण राहत मापदण्ड बमोजिम वितरण गरिएको भनेर खर्च सदर गरेको छ ।

निर्णयमा लेखिएको छ– ‘कोरोनाभाइरसको जोखिम तथा प्रभाव न्यूनीकरणका लागि यस नगरपालिकामा भएका प्रयास सन्तोषजनक रहेको, …. असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा विपन्न वर्गका २२ सय ८२ घरपरिवारलाई राहतको व्यवस्था गरिएको छ । कोरोनाभाइरसको जोखिम न्यूनीकरण, रोकथाम तथा नियन्त्रण शीर्षकमा राहत तथा व्यवस्थापनतर्फ रु.४० लाख ४६ हजार ९११ खर्च गरिएको छ ।’

यस्तो नक्कली कामलाई नगर कार्यपालिकाले निर्णय गरेर किन पारित ग¥यो ? बडिमालिका नगरपालिकाका प्रमुख कार्यकारी यज्ञराज अर्याल भन्छन् “मैले त्यो डकुमेन्ट बनाएको होइन, त्यसको अभिलेखीकरण वडाले पठाएको र हामीले भुक्तानी मात्र गरेको हो ।”

बडिमालिका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष प्रकाश रावलले वडामा आएको राहत सबैलाई पुग्ने गरी एकनाशले बाँडेको दाबी गरे । उनले भने, “कतै पाँच केजी कतै १५ केजी बाँडेको भन्ने कुरा होइन ।” वडा नम्बर ९ का वडाध्यक्ष विनोदकुमार बिकले पनि यस्तै भने, “नगरपालिकाले हाम्रो भागमा कम रकम विनियोजन ग¥यो, हाम्रो जनसंख्या धेरै भयो । हामीले प्रत्येक घरमा सात केजी मात्र चामल बाँडेका हौं । ३० केजी पाउने कोही छैनन् । चामल नपुग्ने भएपछि हामीले मिलाएर बाँडेका हौं ।”

खोज पत्रकारिता केन्द्र
प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार