• २०७७ असार २२ सोमबार

कबिता : नर्सको आवाज

तिमीलाई जस्तै 
मलाई पनि मनको रोगले दुख्छ  
जहाँ तिमीलाई दुख्छ, मलाई पनि त्यही दुख्छ । 

फरक यत्ति हो 
तिमीलाई व्यक्तिगत स्वार्थले दुख्छ , 
मलाई म जस्ता हजार अरू नर्स को कथा र व्यथाले दुख्छ । 
हो, मलाई ती नर्सहरूको चिन्ता छ । 
जसले दिनरात अहोरात्र आफ्नो फक्री रहेको 
फूल जस्तो जीवनलाई समर्पण गरी बिरामी को मुहारमा खुसी ल्याएका छन् । 

अनि तिनै नर्स 
गाउँ देखी सपना बोकी सहरमा आए
एउटा सानो कोठामा सजाएर बसे
अनि अहिले कोभिडको त्रास, 
आफ्नो पेसा, घर परिवारको माया सबैलाई  
मनको कुनामा सजाएर
 विशाल छाती बनाएर 
अग्रपङ्क्ति बसिरहेको बेला 
कहिले काम गर्ने ठाउँबाट दिएको मानसिक  तनाव 
कहिले घर बेटीले कोठामा पस्न नदिई लखेटेको पीडा । 

त्यो मेट्नै नसकिने 
भुल्नै नसकिने  दर्द । 
अनि यो सबै नियाल्ने  हाम्रो लाचार सरकार 
प्रत्यक्षदर्शी भएर पनि दृष्टि भ्रममा  परेको जस्तो गरेको त होइन ? 
हो साथी ,
त्यसैले पोल्छ मेरो छाती
न आकर्षक तलब, न काम को सही मुल्याकन । 
न पेशाको सम्मान ,न कुनै प्रोत्साहन । 
हेर्छु टुलुटुलु , देखेर सक्दिन आफैलाई सम्हाल्न । 
कतै फ्लोरेन्सको आत्मा भड्किने त होइन ?
जसले  आफ्नो सारा जीवन  बिरामीको सेवामा समर्पण  गरिन । 
अनि फेरि सोच्छु ,यो कस्तो विचित्र 
देवीको पूजा हुने, सिता जन्मेको देश । 
 तिनै साक्षात देवीकै रुपमा सेवा दिने नर्समाथी किन अन्याय ?
किन  दमन र  शोषण 
फेरि मौन छ सरकार । 
हुन त राजकीय सुख सयल भोग्ने । 
महलमा बस्ने तिमीलाई के थाहा ?
घरबेटी ले लखेट्दाको पिडा । 
यदि पिडा बुझ्ने भए ,
 बिन्ती छ सरकार ,
नर्स को लागि  सरकारी, गैरसरकारीको  एउटै नीति, नियम बनाएर हेर ।  
न्युनतम  तलबको हदबन्दी  तोक । 

ठुलो भएर नर्स बन्ने हजारौ सपना सजाएका 
पीसीएल कलिला पास गरेको  कोपिला
बिरक्तिएर देश छाड्नुपर्ने  
आफ्नो प्रिय नाम को अगाडी 
डा. थपि नर्सिङमै पिचडि  गरि  डाक्टर बन्ने 
तिमै कारण कतै  स्व.थपेर  स्वर्गीय बन्न नपुगोस्
खोइ म त बुझ्नै सकिन किन ? 
मौन छ सरकार 
तर मैले फेरि भन्दैछु 
बोल सरकार बोल !
 फ्लोरेन्स को आत्माको कसम । 
 ह्जारौ नर्सको आशुको  कसम । 
नत्र तिमिलाई पोल्नेछ आँशुले
अब त नर्सको हितमा पनि केही गरिदेऊm  । 
हाम्रा आवाजको पनि सम्बोधन गरिदेऊ । 
काम गर्ने खुल्ला ठाउँ बनाई देऊ 
सारा नर्सको आवाज  सुनेर 
फेरि बिन्ति गर्न बाध्य छु म तिमि नर्सको पक्षमा  बोलिदेऊ
किनकि तिमीलाई तिम्रो स्वार्थले दुख्छ 
तर मलाई हजारौँ नर्सको कथा व्यथाले दुख्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार