• २०७७ जेठ १४ बुधबार

दाजुभाइ मिलेर बुबाको हत्या गरि मझेरिमा गाड्ने पक्राउ

बुबाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १४ झटियाहीका ६९ वर्षीय सीताराम चौहानको हत्या गरेको आरोपमा प्रहरीले छोराहरु २९ वर्षीय जेठो छोरो रोहित र २६ वर्षीय माइलो छोरो नागेन्द्र चौहानलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जेठ ३ गते उनीहरूले आवेशमा आएर बुबाको हत्या गरेका हुन् । हत्या गरेको भोलिपल्ट बिहान दुवैजना मिलेर घरभित्रै खाल्डो खनेर शव गाडेका थिए । अनुसन्धानका क्रममा दाजुभाइले हत्या गरी मझेरीमा खाल्डो खनेर गाडेको पाइएको मोरङ प्रहरीले जनाएको छ ।

३ गते दिउँसो दुवै दाजुभाईले काम गर्ने ठाउँबाट पैसा लिएर केहि कपडा किनेको र बाँकी पैसाले मदिरा पिएका थिए । साँझ घर पुग्दा बुबाले पैसा मागेपछि बिवाद सुरु भएको थियो । केहीबेरको झगडापछि रोहित खाटमा सुतेका थिए । त्यहिबेला सीतारामले धकेलेर छोरालाई लडाइदिएको र रोहितले नजिकै भएको कोदालोले बाबुको टाउकोमा हिर्काएका थिए । त्यसपछि नागेन्द्रले पनि कोदालो प्रहार गरेपछि सितारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सितारामको मृत्युपछि दुवै जना छुट्टिएर जेठ ४ गते बिहानै भेटेर मझेरीमा खाल्डो खनेर बाबुको शव गाडेका थिए । प्रहरीका अनुसार सीतारामका तीनमध्ये कान्छा छोरा सम्पर्कमा छैनन् । जेठा र माइला छोरा मजदुरी गर्दै आएका थिए । विवाहित माइला छोरा छुट्टिएर बसेका छन् भने जेठा छोरा रोहित बाबुसँगै बस्दै आएका छन् ।

प्रायजसो माइलो छोराको घरमा गइरहने बाबु नआएपछि नगेन्द्रकी श्रीमतिले दिनहुँ फोन गरे पनि फोन उठेको थिएन । घरमा केही शङ्कास्पद अवस्था देखिएपछि श्रीमानसँगै गएर उनले प्रहरीमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । लगत्तै प्रहरीले घटनास्थल अवलोकन गरी उत्खनन् गर्दा हत्या गरेर गाडेको शव फेला पारेको थियो ।

प्रहरीले सुनियोजित नभई तत्कालको आवेगका कारण सितारामको हत्या भएको र दुवै अभियुक्तलाई पक्राउ गरेको बताएको छ ।

दुवैलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार