• २०७७ जेठ १४ बुधबार

अवकाशप्राप्त अधिकृतको कमाइ २६ करोड

सुब्बाबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको खुलेको हो ।

२०३९ साल साउन १ गते जिल्ला विकास समिति स्याङ्जामा गाविस सचिवको रुपमा सुब्बाबाट सेवा प्रवेश गरेका अर्याल अधिकृत भएर अवकाश भएका थिए । अवकाशअघि उनी भीमढुंगा गाविस, टोखा नगरपालिका लगायतका स्थानीय तहमा प्रशासनिक प्रमुखको रुपमा काम गरेका थिए ।

आफ्नो जागिरे अवधिमा अर्यालले अकुत सम्पत्ति आर्जन गरेको भेटिएपछि मंगलबार उनीसहित उनका छोराहरु र श्रीमतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । उनले आफ्नो र श्रीमतीको खातामा अनि शेयरमा मात्रै ९ करोड १३ लाख रुपैयाँ जोडेको भेटिएको छ । छोराछोरीको पढाईमा २० लाख खर्च गरेका उनले विवाहमा २८ लाख खर्च गरेको स्वीकारेका छन् ।

दुईवटा फर्ममा उनको ४ करोड ४२ लाख रुपैयाँ लगानी भेटिएको छ । करिब साढे ४ करोड रुपैयाँ सापटी दिएको भेटिएको छ । करिब २६ करोड ६० लाख आर्जन गरेका उनको १७ करोड ८३ लाख रुपैयाँ बाहेकको ८ करोड ७७ लाख आम्दानी भने स्रोत खुलेको मानिएको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार