• २०७७ जेठ १४ बुधबार

नरैनापुरवासीका दुःखमाथि थपियो महामारीको विपत्ति

वर्षात्मा डुबान र हिउँदमा आगलागीको विपत्ति व्यहोर्दै आएका बाँकेको नरैनापुरवासीमा अहिले आएर फेरि कोरोना महामारीको महाविपत्ति थपिएको छ । 

राप्ती नदीमा भारतले एकतर्फीरुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण नरैनापुर क्षेत्र वर्षायाममा डुबानमा पर्छ । जसका कारण यहाँका स्थानीयवासीलाई जीउधन जोगाउनै सास्ती हुने गर्छ । यहाँका स्थानीयवासीको हिउँदको पीडा फेरि अर्कै छ । हिउँदको याममा यहाँका गाउँ आगलागीको चपेटामा पर्दै आएका छन् । अधिकांश घर एकापसमा जोडिएका दिवाल र छानो फुसको कच्ची हुने गरेका कारण एउटा घरमा सल्किएको आगोले बस्ती नै सखाप हुने गरेको छ । 

शिक्षा, स्वास्थ्य र विकासको दृष्टिकोणले पछाडि परेकै कारण अहिले कोरोना महामारी पनि नरैनापुरमा देखिएको यहाँका स्थानीयवासी तथा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव बताउँछन् । नरैनापुरका नागरिकमा चेतनाको स्तर कममजोर भएकाले बन्दाबन्दीको बेवास्ता गर्ने र आपसी सामाजिक दूरीसमेत कायम गर्न नसक्दा अहिले कोरोनाको कहरमा परेको उनले बताए ।

“मैले जिल्लाको विपद् व्यवस्थापन बैठकमा भन्दै आएको थिएँ, नरैनापुर क्षेत्रमा चेतनाको स्तर कम छ कुनै दिन यहाँ विस्फोटक अवस्था पनि बन्नसक्छ, त्यहाँ सेना परिचालन गरेरै भए पनि लकडाउन कार्यान्वयन गराऔँ, तर मेरो कुरा सुनुवाइ भएन”, श्रीवास्तवले भने, “सय जना बसेको क्वारेन्टिनमा दुई चारजना जनपथ प्रहरीले नियन्त्रण गर्न सक्ने कुरै भएन आज त्यसैकारणले कोरोना विस्फोट भएको छ ।” 

रोजगारका लागि भारत गएर फर्केका नागरिक र घरपरिवार आफ्नो स्वास्थ्यप्रति सचेत नभएका कारण घरपरिवार हुँदै गाउँभर कोरोना महामारीको विपत्ति फैलिएको उनको भनाइ छ । “अहिले पनि नरैनापुरका जनता स्वास्थ्य सेवाबाट वञ्चित रहनुपर्ने अवस्था छ । लक्ष्मणपुरमा एमबिबिएस चिकित्सकको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भव्य भवन भए पनि चिकित्सक नहुँदा सुनसान छ”, उनले भने । स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मी र औषधिको सधैँजसो अभाव हुने गरेको उनले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सञ्चालन भएको भए आज नरैनापुरमा सङ्क्रमणको यो अवस्था नआउने स्थानीयवासीको भनाइ छ । 

प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत्, जेनेरेटर, इन्टरनेट र भेन्टिलेटर नभएकाले आइसोलेशन सञ्चालन हुन कठिन रहेकाले सङ्क्रमित व्यक्तिलाई नेपालगञ्जकै सुविधा सम्पन्न महेन्द्र बहुमुखी क्याम्पस वा भेरी प्राविधिक शिक्षालयजस्ता ठूला कलेजमा आइसोलेशन बनाउनुपर्ने उनको सुझाव छ । 

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिका तत्कालीन ६ वटा गाविस कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गङ्गापुर मिलेर बनेको हो । गाउँपालिकाको तथ्याङ्कअनुसार कूल १७२.३४ किमी क्षेत्रफलमा फैलिएको नरैनापुर गाउँपालिका उत्तरतर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिणतर्फ भारतको सिमाना, पश्चिमतर्फ डुडुवा गाउँपालिका र पूर्वतर्फ पनि भारतको सिमाना जोडिएको छ । यहाँको जनसङ्ख्या जम्मा ३४ हजार ९४२ रहेको छ । 

सदरमुकाम नेपालगञ्जसम्म आउजाउ गर्न पनि वर्षाद्मा भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्थाबाट गुज्रिँदै आएका नरैनापुरवासीलाई निर्माणाधीन नेपालगञ्ज–बघौडा हुलाकी राजमार्गले केही वर्षयता सिधा सम्पर्क जोडेको छ । अहिले पनि यहाँ विद्युत् विस्तार हुन सकेको छैन । यहाँका अधिकांश युवा रोजगारका लागि भारतको महाराष्ट्रलगायत विभिन्न शहरमा जाने गर्छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले भारतमा रोजगारीका लागि गएका व्यक्ति धमाधम फर्किएसँगै नरैनापुरमा कोरोना कहर फैलिएको छ । 

दुईदिनअघि क्वारेन्टिनमै गाउँका एकजना युवाको निधन भएर शोकमग्न रहेकामा सोमबार एकै दिन ५९ जनामा सङ्क्रमण देखिएपछि नरैनापुर कोरोना महामारीको चपेटामा परेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । टेन्टको क्वारेन्टिन बनाएर भए पनि भारतबाट आएका सबैजनालाई व्यवस्थापन गरिएको जानकारी दिँदै उनले अझै थपिने क्रम नरोकिएकाले प्रदेश र केन्द्र सरकारले सहयोग नगरे व्यवस्थापनमा कठिनाइ हुने उनले बताए । 

उनका अनुसार सोमबारसम्म नरैनापुरमा भारतबाट भित्रिनेको सङ्ख्या ७७९ जना पुगेको छ । नरैनापुरमा भित्रिनेको सङ्ख्या बढेसँगै गाउँपालिकाले क्वारेन्टिन पनि थपेर १३ पु¥याएको छ । एकैपटक ठूलो सङ्ख्यामा देखिएका सङ्क्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिको व्यवस्थापनमा कठिनाइ देखिएको छ । एकै दिन ५९ जनामा सङ्क्रमण देखिएपछि उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ । ठूलो सङ्ख्यामा रहेका सङ्क्रमितलाई अन्यत्र लैजान असम्भव भएपछि नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार थालिएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवनलाई आइसोलेशन अस्पतालका रुपमा सञ्चालन गरिने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । 

प्राथमिक स्वास्थ्य उपचार केन्द्र आफैँ बिरामी
कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र आफै बिरामी अवस्थामा छ । सुविधा सम्पन्न भवन रहे पनि झण्डै दुई वर्षदेखि चिकित्सक छैनन् । त्यहाँ स्टाफ नर्स, एचए र ल्याब असिस्टेन्टको पद पनि खाली रहेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका संयोजक मोइन खाँले बताए । चिकित्सक र अन्य स्वास्थ्यकर्मीसमेत नभएका कारण नरैनापुर क्षेत्रका नागरिक गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा  विद्युत् र आवश्यक जनशक्तिका साथै ल्याब र एक्स–रेको सुविधा नहुँदा स्वास्थ्य जाँच गर्नुपर्ने बिरामी नेपालगञ्ज र भारत जान बाध्य रहेको संयोजक खाँले बताए । 

उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक, स्टाफ नर्स, एचए र ल्याब एसिस्टेन्टको दरबन्दी रहे पनि हाल एचएलगायत १० जना स्वस्थ्यकर्मीले नियमित सेवा दिइरहेका छन् । दुई स्थायी र दुईजना करारमा रहेका अनमीले बर्थिङसेन्टर सञ्चालन गरी सुत्केरी सेवा प्रदान गरिएको छ । कोरोनाको कहरमा मानव अधिकारको अवस्थाबारे बुझ्न नेपालगञ्जबाट केहीदिनअघि नरैनापुर पुगेको अधिकारकर्मीको टोलीले प्राथमिक स्वास्थ्य केन्द्रको भव्य भवन भए पनि आवश्यक जनशक्ति र औषधिको अभाव भएको पाइएको अनुगमनमा पुगेका अधिकारकर्मी वसन्त गौतमले बताए ।

अहिले पनि नरैनापुरमा चेतनाको अभावमा भारतीय नक्कली झोले डाक्टरबाट स्थानीयवासी पीडित छन् । सर्वसाधारणले सरकारी स्वास्थ्यकर्मीलाई भन्दा ती झोले डाक्टरलाई विश्वास गर्ने प्रवृत्ति बढ्दै गएको छ र यो समस्याका रुपमा रहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले नै बताउने गरेका छन् । केही महिनाअघि भारतीय झोले डाक्टरले खोप लगाइदिएका एक स्थानीयवासीको यहाँ मृत्यु नै भएको थियो । स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार डाक्टरलगायतका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवामा असर परेको भन्दै उच्च अदालत नेपालगञ्जमा रिट दायर भएपछि अदालतले डाक्टरलगायतको दरबन्दी पूरा गर्न २०७४ चैत १४ गते आदेश दिएको भए पनि उक्त स्वास्थ्य केन्द्रमा २०७५ भदौदेखि कुनै डाक्टर गएका छैनन् । 

दरबन्दीअनुसारको पदपूर्ति गर्न राप्तीपारिका नागरिकलाई स्वास्थ्यको अधिकारबाट वञ्चित नगर्नु र स्वास्थ्य सुशासन कायम गर्नु भनी अदालतको आदेश भए पनि कार्यान्वयन नभएको उद्द मुद्दामा बहस गर्नुभएका अधिवक्ता विश्वजित तिवारीले जानकारी दिए । अदालतको आदेश भएपश्चात् ५६ महिनाका लागि उक्त स्वास्थ्य केन्द्रमा डाक्टर गए पनि त्यसपछि कुनै डाक्टर नगएको उनको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी ल्याउन पटक–पटक पहल गरिए पनि सम्भव नभएको गाउँपालिकाका अध्यक्ष शाह बताउँछन् । जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म प्रयास गरे पनि लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा चिकित्सक ल्याउन नसकिएको उनको गुनासो छ । 

भारतीय बाँधले वर्षेनी डुबान
भारतले सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध र सीमामा बनाइएको सडकले पानीको निकास रोकिँदा बाँकेको नरैनापुर गाउँपालिका वर्षेनी डुबानमा पर्ने गरेको छ । गाउँपालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरेको बाँध र सडकका कारण निकास नपाउँदा नरैनापुरका १, २ र ३ वडामा पर्ने बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, वहाबपूर्वा, रोशनपूर्वालगायत दर्जनौँ गाउँ डुबानमा पर्ने गरेको गाउँपालिका अध्यक्ष शाह बताउँछन् । 

बाँके निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद एवं नेकपाका केन्द्रीय सदस्य महेश्वरजङ गहतराजले नरैनापुर क्षेत्रको विकासका लागि गरिएका प्रयासले सार्थकता पाइनसकेको बताउँछन् । लक्ष्मणपुर स्वास्थ्यचौकीमा दरबन्दीअनुसार चिकित्सक ल्याउन र विद्युतीकरणका लागि निरन्तर पहल भइरहेको उहाँले जानकारी दिए । विद्युतीकरणको कार्य अगाडि बढे पनि स्वास्थ्य केन्द्रमा डाक्टरसहित दक्ष स्वास्थ्यकर्मी ल्याउने कार्य हुन नसकेको बताउँदै उनले शिक्षा, स्वास्थ्य र सामाजिक विकासको अभावले नरैनापुरवासीले अहिले ठूलो महामारीको सामना गर्नुपरेको भन्दै आफूले सङ्क्रमितको सुविधायुक्त आइसोलेशन अस्पतालमा उपचारको व्यवस्था, व्यवस्थित क्वारेन्टिन र थप सङ्क्रमण हुन नदिन सुरक्षा सतर्कताका लागि प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीसहित सम्बन्धित निकायमा पहल गरिरहेको जानकारी दिए । 

हाल बाँकेमा कोरोना भाइरसका ९२ जना सङ्क्रमित छन् । तीमध्ये ५९ जना खजुरास्थित सुशील कोइराला प्रखर परोपकार क्यान्सर अस्पताल, २५ जना लायन्स डेन्टल हस्पिटल नेपालगञ्ज र बाँकी आठजना दाङको बेलझुण्डीमा उपचाररत छन् । बाँकेको क्वारेन्टिनमा एक हजार २९७ जना आइसोलेशनमा छन् । यस जिल्लाका ६ वटा आइसोलेशन अस्पतालमा १०४ श्यया र ५३ वटा आइसियु कक्ष तथा २१ वटा भेन्टिलेटर सुविधा उपलब्ध छ ।      

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार