• २०७७ जेठ १८ आइतबार

आहा रारा गोल्डकप : साविक विजेता थ्रीस्टार क्लब सेमिफाइनलमा

अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा फुटबल रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनलको खेलमा पाहुना टोली गान्तोक सिटी फुटबल क्लब भारतलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दैै थ्रीस्टार प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । 

नेपालमा आयोजना भएका प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गान्तोकले पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्न सफल भए पनि दोस्रो हाफमा थ्रीस्टारले तीन गोल गर्न सफल भयो । 

खेलको ७९औँ मिनेटमा थ्रीस्टारका सञ्जोक राईले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी एरियामा गोल किपरलाई छलाउँदै गोल गर्न सफल भए । प्रतिस्पर्धात्मक खेलमा अग्रता बनाएपछि थ्रीस्टारले विपक्षी टोलीमाथि लगातार दबाब बनाइरहेको थियो । इन्जुरी समयमा उसले थप दुई गोल गर्न सफल भयो । 

तीन मिनेटको इन्जुरी समयको दोस्रो र अन्तिम मिनेटमा थ्रीस्टारका सुशन श्रेष्ठले लगातार गोल गर्दै टोलीको जित सुनिश्चित गरेपछि पाहुना टोली गान्तोक आफ्नो पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । खेलमा दुई गोल गर्नुभएका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार नगद तथा ट्रफी पुरस्कार प्राप्त गरे । 

खेलमा गान्तोकले गोल गर्ने केही सुन्दर अवसरको सदुपयोग गर्न सकेको थिएन । थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार