• २०७६ कार्तिक २९ शुक्रबार

पारस खडका विदेशी फ्रेन्चाइज अबुधाबी टी टेनमा आबद्ध

काठमाडौँ, 
नेपाली क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका क्रिकेटर पारस खडकाले अन्तर्राष्ट्रिय फे्रन्चाइज लिगमा आबद्ध भएका छन् । उनले यूएईमा आगामी महिना हुने अबुधाबी टी टेन लिगमा टिम अबुधाबीका लागि खेल्नेछन् ।

पारसले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जालमा टिम अबुधाबीबाट टी टेन लिग खेल्ने सार्वजनिक गरेका हुन् । गत साता मात्रै टिम अबुधाबीका खेलाडी सदस्यहरुको घोषणा गरिएको थियो । तर उक्त सदस्यहरुको सुची लिग फ्रेन्चाइजलाई बुझाउनुपर्ने मस्यौदा मात्रै रहेकोले खडकालाई पछि थपिएको हो । नेपाली क्रिकेट टोलीका अलराउन्डर खडका दश हजार अमेरिकी डलरमा टिम अबुधाबीमा आबद्ध भएका हुन् ।

विदेशी फ्रेन्चाइज लिग खेल्ने पारस खडका तेस्रो खेलाडी हुन् । यसअघि सन्दीप लामिछाने र सोमपाल कामी विदेशी फ्रेन्चाइज खेलिसकेका छन् । लामिछाने लिगको चर्चित फ्रेन्चाइज आईपीएलको दुई संस्करण खेलेका छन् । खडकाको भने यो पहिलो विदेशी फ्रेन्चाइज अनुभव हुनेछ । सन्दीप भने टी टेन लिगमा कनार्टका टस्कर्सको प्रतिनिधित्व गर्नेछन् । अबुधाबीमा चर्चित खेलाडीमा पाकिस्तानका देब्रे हाते तिब्र गतिका बलर मोहम्मद अमीर, इंग्ल्याण्डका अलराउन्डर ल्युक राइट, न्युजिल्याण्डका अलराउन्डर कोरे एन्डरसन छन् ।

इंग्ल्याण्डका मोइन अली अबुधाबीका ‘आइकन’ खेलाडी हुन् । अबुधाबीस्थित शेष जायेद अन्तर्राष्ट्रिय रंगशालामा नोभेम्बर १५ देखि २४ सम्म हुने लिगमा कुल आठ टोलि सहभागी हुनेछ । टी टेनको यो तेस्रो संस्करण हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार