• २०७६ कार्तिक २९ शुक्रबार

आरोपित जोगाउन गृहमन्त्री र आईजीपीले बोले यस्तो झुट

नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेल मारिएको विषयमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आरोपित जोगाउने गरी संसदीय समितिलाई गलत (ब्रिफिङ) गरेको पाइएको छ। 

चन्द समूहका सर्लाही इन्चार्ज पौडेल गत असार ५ गते मारिएको घटनाका सम्बन्धमा असार ९ गते डाकिएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापा र आईजीपी खनालले मुठभेड (इन्काउन्टर) भएको दाबी गरेका थिए। थापा र खनालको दाबीलाई राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले गलत भनेको छ । 

आयोगले पौडेलको हत्यामा संलग्न र गोली हान्न आदेश दिनेमाथि फौजदारी कसुरमा कारबाही गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। आयोगको निर्देशनसँगै पौडेल हत्या प्रकरणमा पुनः छानबिन गर्न सरकारलाई दबाब परेको छ। । आयोगले इन्काउन्टरका नाममा हत्या गर्ने इन्स्पेक्टर केडी साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अपराध कसूरमा कारबाही गर्न निर्देशन दिएको हो । 

उनीहरू आईजीपी खनाल मातहतको विशेष ब्युरोमा दरबन्दी काज गरेर खटिएका घुमुवा प्रहरी थिए । कसुर पुष्टि भए फौजदारी अपराध संहिता ऐन २०७४ अनुसार तीनै जनामाथि जन्मकैदको सजाय हुन सक्छ। गृहसचिव प्रेमकुमार राईले आयोगको सिफारिस मन्त्रालयमा आएपछि कारबाहीलगायत विषयमा ठोस निर्णय लिइने बताए। कोमाथि कस्तो किसिमको कारबाही वा अनुसनधान गर्ने भन्ने विषय आयोगको निर्देशन अध्ययन गरेर मात्रै थाहा हुने उनको भनाइ छ ।

‘हामीले आयोगको प्रतिवेदन औपचारिक रूपमा पाइसकेका छैनौं,’ सचिव राईले भने, ‘प्रतिवेदन हेरेपछि निर्णय लिन्छौं।’ मानव अधिकार संरक्षण तथा त्यसको पालना, विधि र कानुनअनुसार अपराध अनुसन्धान तथा शान्ति सुरक्षा व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उनले बताए। मानव अधिकार आयोगका सचिव एवं प्रवक्ता वेद भट्टराईले आयोगको निर्देशन तथा सिफारिस कार्यान्वयनका लागि मंगलबार प्रधानमन्त्री कार्यालयमा पत्राचार गरिएको बताए।

‘आयोगको अनुसन्धानबाट पौडेल मुठभेडमा नभई प्रहरीले नियन्त्रणमा लिएर मारेको पष्टि भइसकेको छ,’ उनले भने, ‘प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले पौडेलको हत्या गरेको छ, हत्या गर्ने र हत्या गर्ने आदेश दिने दुवै पक्षमाथि अनुसन्धान गरेर कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएका छौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार