• २०७६ मङ्सिर ४ बुधबार

म्यान्मारका नेपालीभाषीले राष्ट्रपति भण्डारीसँग राखे यस्तो माग

म्यान्मारको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाली मूलका बर्मेली नागरिकले दुई देशबीच सीधा हवाई सेवा सुरु गर्न माग गरेका छन्। शुक्रवार म्यान्मारको पे-उ-लिन नगरमा नेपालीभाषीहरूले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेकी भण्डारीसँग उक्त माग राखेको म्यान्मारस्थित नेपालीभाषी बर्मेली समुदायका नेताहरूले बताएका छन्।

अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेका अनुसार नेपाल र म्यान्मारबीच सम्पर्क बढाउन सीधा हवाई सेवाको माग राखिएको हो।

'हामीले कार्यक्रममा उहाँलाई नेपाल र म्यान्मारबीच सीधा हवाई सेवा र म्यान्मारबाट नेपाल जानेहरूका लागि निस्शुल्क प्रवेशाज्ञाको व्यवस्था गरिदिन माग गरेका छौँ,' उनले भने। नेपालीभाषीहरूले यस्तो माग राखेपछि राष्ट्रपतिले त्यसका लागि पहल गर्ने आश्वासन दिएको सङ्घका सल्लाहकार मणिलाल पौडेलले बताए।

'हामीले राखेको मागबारे पहल गर्ने र नेपाल र म्यान्मारलाई सहजम रूपमा जोड्ने उहाँले बताउनु भएको छ। नेपाल र म्यान्मारबीच सीधा हवाई सेवा सुरु हुन्छ भन्ने हाम्रो आशा छ,' पौडेलले भने। उनले अहिले सीधा हवाई सेवा नहुँदा त्यसको फाइदा अन्य मुलुकहरूलाई भइरहेकाले नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालले पहल गर्नुपर्ने आफूहरूले बताएको जानकारी दिए।

पौडेलका अनुसार नेपालीभाषीहरूले नेपाल भ्रमण वर्ष सफल पार्न म्यान्मारमा विभिन्न अभियान चलाउने प्रतिबद्धता पनि जनाएका छन्। नेपाली भाषी सङ्घसंस्थाका नेताहरूका अनुसार पछिल्लो जनगणना अनुसार म्यान्मारका विभिन्न क्षेत्रमा करिब दुई लाख नेपालीभाषीको बसोबास रहेको छ।

राष्ट्रपति भण्डारी बुधवार म्यान्मारको राजकीय भ्रमणमा गएकी हुन्। उनी आइतवार म्यान्मारबाट जापानका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार